बिर्तामोड-राप्रपाले झापामा शनिवार अभूतपूर्व शक्ति प्रदर्शन गरेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि ठूलो संख्यामा राप्रपा नेता कार्यकर्ता सहभागी भएका छन् । शुभेच्छुकको समेत बाक्लो उपस्थितिले राप्रपाको नेतृत्वलाई उत्साहित बनाएको छ ।
विकसित पछिल्ला राजनीतिक घटनाक्रम र यसबाट जनस्तरमा देखिएको अन्योलका बीच राप्रपाले झापामा अभूतपूर्व शक्ति प्रदर्शन गरेको हो । सम्भवत यति ठूलो संख्यामा राप्रपाका कार्यकर्ता पहिलोचोटि पूर्व राजाको स्वागत कार्यक्रममा सहभागी भएका छन् ।
झापाको बिर्तामोडस्थित देवी पञ्चकन्यामा रहेको इकोम कलेजको निमन्त्रणामा पूर्वराजा शाह बुद्ध एयरको जहाजमार्फत शुक्रवार झापा ओर्लिएका थिए ।

कलेज परिसरमा राखिएको राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरणका लागि पूर्व राजा शाहले समय निकालेका हुन् ।
धुलावारीको होटल मेची क्राउन प्लाजाबाट पूर्वराजा शाहलाई हजारौँ मोटरसाइकलले स्कर्टिङ गरेर कार्यक्रमस्थल ल्याइएको हो । आफ्नै गृह जिल्लामा पूर्व राजाको औपचारिक कार्यक्रम तय हुँदा जनसहभागिता जुटाउने चुनौति राप्रपा नेतृत्वलाई थियो ।
राजाका समर्थक राजधानीमा दुर्गा प्रसाईको आन्दोलनमा सहभागी भएको चर्चाका बीच राप्रपा ठूलो संख्यामा आफ्ना कार्यकर्ता सडकमा उतार्न सफल भएको हो । राप्रपाको नेतृत्व १५ दिनयता पूर्व राजाको स्वागत व्यवस्थापनमा नियमित खटिएको थियो ।

‘यसअघिको भन्दा भिन्न स्वागत र जनसहभागिताले पूर्व राजामा पनि उत्साह थपेको हुनुपर्छ’ कार्यक्रममा सहभागी राप्रपाका एक नेताले भने, ‘राजाको पक्षमा झापामा यति ठूलो प्रदर्शन पहिलो हो भन्ने लाग्छ ।’
थामिनसक्नुको उत्साहजनक उपस्थितिले सुरक्षाको चाँजोपाँजो र भीड व्यवस्थापनमा सुरक्षाकर्मीलाई निकै हम्मे परेको थियो । झण्डै एक किलोमिटर पैदल हिँडेर कार्यक्रमस्थल इकोम कलेज पुगेका पूर्व राजालाई भीड छिचोल्न मुस्किल भयो ।
स्वागतमा सहभागी राप्रपा कार्यकर्ता र शुभेच्छुकले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए ।
इकोम कलेजको माथिल्लो तलामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दाहिने राखेर बसेका पूर्व राजा शाहले शुभेच्छुकलाई स्वागत अभिवादन मात्रै फर्काएनन्, बालबालिकालाई आफैँसँग राखेर मुस्कुराउँदै फोटो खिचाए ।
पूर्व राजा शाहले कार्यक्रमस्थलमा डेढ घण्टा बिताएका छन् । उनले त्यहाँ आयोजित सांस्कृतिक कार्यक्रम अभिरुचिपूर्वक हेरेका हुन् । पूर्वराजाले लिखित वक्तव्य दिने अड्कलबाजी गरिए पनि उनले कुनै धारणा राखेनन् ।
कलेजका तर्फबाट पूर्वराजा शाहलाई अध्यक्ष आलोक कार्कीले स्वागत गरेका छन् । पूर्वराजाको आगमनलाई कलेज वरपरका स्थानीयले घरको छतबाट पनि हेरेका छन् ।


















