८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

आठ करोड लागतमा नौमती सांस्कृतिक धरोहर केन्द्र बनाउँदै सिक्किम सरकार



सुब्रत न्यौपाने, सिक्किम– सिक्किम सरकारले विश्वभरि छरिएर रहेका नेपालीभाषी समुदायको परम्परागत बाजाको संरक्षणका लागि नौमती सांस्कृतिक धरोहर केन्द्रको अवधारणा अगाडि सारेको छ ।

नौमतीसहित विभिन्न नेपालीभाषी समुदायका लोपोन्मुख बाजाको व्यवसायिक प्रवर्धनका लागि सिक्किम सरकारले बृहत परियोजना सुरु गरेको हो ।

हराउँदै गएको नौमती बाजाको संरक्षण चुनौतिपूर्ण बन्दै गइरहेका बेला सिक्किम सरकारले नौमती सांस्कृतिक धरोहर केन्द्रको स्थापना गर्ने तयारी गरेको छ ।

प्राचीन शैलीमा निर्माण हुने गरी सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले नौमती सांस्कृतिक धरोहर केन्द्रको शिलान्यास गरेका छन् ।

पश्चिम सिक्किमको गेजिङ जिल्लाको बर्मेकमा आयोजित विशेष समारोहका बीच मुख्यमन्त्री गोलेले केन्द्रको शिलान्यास गरेका हुन् ।

शिलान्यासपछि मुख्यमन्त्री गोलेले नेपाली भेषभुषा, कला संस्कृति र परम्परागत बाजाको संरक्षणका लागि सिक्किम सरकारले अग्रसरता लिएको बताए ।

‘बाजा संग्रहालयको रुपमा मात्र यो विकास हुने छैन्, यसलाई विश्वव्यापी अध्ययन र सिकाई केन्द्रका रुपमा पनि विकास गर्ने सरकारको लक्ष्य छ’, मुख्यमन्त्री गोलेले भने ।

प्राचीन शैलीमा केन्द्रको भवन निर्माण गर्ने लक्ष्यका साथ भूमिपूजन गरी विश्वस्तरीय नौमती सांस्कृतिक धरोहर केन्द्रको शिलान्यास गरिएको हो ।

नौमतीलाई बाजाको राजाका रुपमा लिने गरिन्छ । नेपालीका हरेक शुभकार्यमा नौमती बाजा बजाउने चलन रही आएको छ ।

पहिलो चरणमा आठ करोड २१ लाख रुपैयाँको लगानीमा नौमती सांस्कृतिक धरोहर केन्द्र बनाउन लागिएको सिक्किम सरकारको संस्कृति विभागकी मुख्य अभियन्ता प्रज्ञा सिंहले बताइन् ।

बर्सेनि यसको विकास र प्रवर्धनका लागि लगानी बढाउँदै लैजाने सिक्किम सरकारको नीति रहेको संस्कृति विभागका मन्त्री साण्डुप लेप्चाले बताए । ‘सिक्किमको पर्यटन विकासका लागि पनि यसले विशेष महत्व राख्छ’, मन्त्री लेप्चाले भने ।

सिक्किम सरकारको संस्कृति विभाग अन्तरगत निर्माण हुन लागेको नौमती सांस्कृतिक धरोहर केन्द्रलाई विश्वभरिका नेपाली भाषीको प्रतीकका रुपमा विकास गरिने क्षेत्रीय विधायक तथा मन्त्री लोकनाथ शर्मा बताउँछन् ।

‘युवा पुस्ताले आफ्नै जातिय महत्वका परम्परागत बाजागाजा र संस्कृति भुल्दै गएका छन्’, मन्त्री शर्माले भने, ‘अब सरकारी तहबाट यसको संरक्षण अभियान सुरु गर्न लागेका छौँ । यसमा मुख्यमन्त्री महोदयको विशेष चासो र रुचि छ ।’

नेपाली भाषीका सबै परम्परागत बाजाको संकलन, संरक्षण गर्दै नौमती सांस्कृतिक धरोहर केन्द्रलाई अध्ययन केन्द्रका रुपमा विकास गर्ने सरकारको लक्ष्यलाई सघाउन आफुहरु तयार रहेको अखिल सिक्किम अनुसूचित जाती कल्याण संघका पूर्व अध्यक्ष शेखर शिवाले बताए ।

‘सिक्किम सरकारको यो नौलो र रचनात्मक अभियान हो’, पूर्व अध्यक्ष शिवाले भने, ‘यसले लोक संस्कृतिको जगेर्नामा ठूलो फड्को मार्छ भन्ने लागेको छ ।

यसपटक बाजा बजाउने सीप तथा कलाको विकासमा पनि सिक्किम सरकारले बजेट बिनियोजन गरेको छ । युवा पुस्ताको समेत सहभागिता रहने गरी परम्परागत बाजाको संरक्षण गर्ने सिक्किम सरकारको नीतिले विश्वभरि एउटा अभूतपूर्व सन्देश गएको सिक्किमेलीहरु बताउँछन् ।

गान्तोक निवासी लक्ष्मी सुजी भन्छिन्, ‘लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न र नयाँ पुस्तालाई यसमा आकर्षित गरिरहन सिक्किम सरकारले थालोको प्रयासले विश्वभरि एउटा सन्देश गएको छ ।’

पर्यटकीय आकर्षणको केन्द्र बनेको सिक्किमले नेपाली भाषीका बाजाको संरक्षण गर्ने र यसलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने जुन लक्ष्य राखेको छ, यो आफैँमा नौलो प्रयास हुनेछ ।

नौमतीको संगीत र रागमा रमाउन चाहने नेपाली भाषी समुदायका लागि सिक्किम सरकारको अवधारणा सुखद् सुरुवात हो ।

जग्गा दातालाई सम्मान
नौमती सांस्कृतिक धरोहर केन्द्र बनाउन स्थानीयले जग्गा दान गरेका छन् । अखिल सिक्किम अनुसूचित जाती कल्याण संघका पूर्व अध्यक्ष शेखर शिवाका अनुसार १.६७ हेकड जमिनमा केन्द्र बनाउन लागिएको हो ।

त्यसका लागि पेमा वाङ्गेल भुटिया, डा. टेम्पो ग्याल्छेन भुटिया, हरिचन्द्र क्षेत्री, एमबहादुर सुब्बा र सोनाम भुटियाले जग्गा दिएका छन् । केन्द्रका लागि अझै थप जग्गाको खाँचो रहेको पूर्व अध्यक्ष शिवाले बताए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार ००:००  १० : २० बजे