१८ बैशाख २०८१, मंगलबार | Wed May 1 2024

बिर्तामोड खानेपानीको निर्वाचन : अध्यक्षका उमेद्वार बाँस्तोलाले भने, ‘मेरो उमेद्वारी कानुन सम्मत छ’



झापा- बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनमा अध्यक्षका उमेदवार मेघराज बाँस्तोलाले आफ्नो उमेद्वारीका विषयमा आम उपभोक्तामा भ्रम छर्ने प्रयास गरिएको जनाउँदै कडा आपत्ति जनाएका छन् ।

कांग्रेस र राप्रपाको संयुक्त गठबन्धन लोकतान्त्रिक राष्ट्रबादी समूहका तर्फबाट अध्यक्षका उमेद्वार बाँस्तोलाले शनिवार अपरान्ह बिर्तामोडमा पत्रकार सम्मेलन गरी आफू कानुन बमोजिम उमेद्वार रहेको प्रष्ट पारेका हुन् ।

कर्मचारी आचारसंहिताविपरीत बाँस्तोला उमेद्वार भएको भन्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशन प्रशारण भएको थियो । उमेद्वार बाँस्तोलाले पत्रकार सम्मेलनमार्फत उक्त समाचारको सार्वजनिक रुपमा खण्डन गरेका हुन् ।

अध्यक्षका दावेदार बाँस्तोलाले प्रदेश सरकारको राजपत्रले समेत आफूलाई उमेद्वार हुन बाधा नपर्ने व्यवस्था गरेको पत्रकार सम्मेलनमा स्मरण गराएका छन् ।

लामो समयदेखि स्थानीय तहमा कार्यरत बाँस्तोला यसअघि दुई कार्यकाल बिर्तामोड खानेपानीमा सचिव थिए । एक कार्यकाल सदस्यको रुपमा काम गरेका बाँस्तोला गैर राजनीतिक प्रकृतिको सामाजिक संस्थामा उमेद्वार हुन कानुनले समेत नरोकेको बताउँछन् ।

प्रदेशले जारी गरेको राजपत्रमा आर्थिक लाभ वा कुनै सुविधा नलिने, कार्यालयको काममा बाधा नपर्ने र स्थानीय तहको अहित नहुने गरी आफ्नो गैर राजनीतिक प्रकृतिको सामाजिक संस्थामा आवद्ध हुन पाउने व्यवस्था छ ।

उम्मेद्वारी उपर दावीविरोध गर्ने निर्वाचन समितिले निर्धारण गरेको समयभित्र कुनै उजुरी नपरेको अवस्थामा अहिले भ्रमको खेती गर्नुको कुनै औचित्य नभएको बाँस्तोलाले बताए ।

पराजित मानसिकता बोकेका केही स्वार्थ समूहको जोड बलमा गरिएको भ्रमपूर्ण प्रचारको भ्रममा नपर्न उनले अपिल गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार ००:००  ५ : १८ बजे