८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मेची र विराटनगर भन्सारले गुमाए राजस्व संकलनको पूर्व निर्धारित लक्ष्य



सुब्रत न्यौपाने

बिर्तामोड-देशव्यापी आर्थिक संकट व्यवस्थापनको विषयमा सरकार गम्भीर नहुँदा भन्सार नाकाहरुको राजस्व असुली प्रभावित हुन थालेको छ ।

आयात निर्यातमा भइरहेको उतार चढावले राजस्व संकलनको पूर्व निर्धारित लक्ष्यमा भन्सार नाकाहरु असफल भइरहेका छन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परेको आर्थिक मन्दीको असरले राजस्व संकलन प्रभावित भइरहेको हो । बढ्दो आयात र घट्दो निर्यात व्यापारले मुलुकलाई थप आर्थिक संकटको बाटोमा लगेको छ ।

व्यवसायिक क्षेत्रमा देखिएको आर्थिक मन्दीले भन्सार नाका सुनसान जस्तै छन् । यसले अधिकतम् राजस्व असुली गर्ने सरकारको पूर्व योजनामा धक्का पुगेको छ ।

पूर्वी नेपालका दुई मुख्य भन्सार नाका राजस्व असुलीको पूर्व निर्धारित लक्ष्य भेट्न नसक्ने अवस्थामा पुगेका छन् । मेची भन्सार कार्यालय काँकडभिट्टा र विराटनगर भन्सार कार्यालयले राजस्व लक्ष्य गुमाउँदै गएका हुन् ।

चालु आर्थिक वर्षको १० महिना बितिसक्दा मेची भन्सारले लक्ष्यको करिव ७० प्रतिशत मात्रै राजस्व उठाउन सकेको छ । मेची भन्सारको अधिकांश राजस्व हिस्सा पेट्रोलियम पदार्थको आयातमा निर्भर छ ।

पेट्रोलियम पदार्थ र एलपी ग्यासको आयात कम हुनासाथ मेची भन्सारको राजस्व घट्ने गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए ।

काँकडभिट्टा नाकाबाट १० महिनामा तीनलाख १८ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसबाट ६ अर्ब ३९ करोड रुपैयाँ राजस्व उठेको छ ।

भारत पश्चिम बंगालको सिलगुढीबाट पूर्वीनाका काँकडभिट्टा हुँदै पेट्रोलियम पदार्थ र एलपी ग्यास नेपाल भित्रिने गर्छ । त्यसबाट कुल लक्ष्यको ६५ प्रतिशत राजस्व संकलन हुँदै आएकोमा अहिले घटेर ४५ प्रतिशतमा सीमित भएको छ ।

मेची भन्सार कार्यालयका अनुसार भन्सार विभागले बैशाख सम्ममा १६ अर्व ६५ करोड राजस्व संकलनको लक्ष्य निर्धारण गरी पठाएको थियो । तर, यो अवधिमा ११ अर्ब ६१ करोड मात्रै राजस्व उठेको छ ।

विभागले तोके अनुसार असार मसान्तसम्म मेची भन्सार कार्यालयले २० अर्ब २४ करोड रुपैयाँ राजस्व उठाउनु पर्छ । तर, लक्ष्य हासिल गर्न सम्भव नभएको भन्सार अधिकारी बताउँछन् ।

अवैधरुपमा हुने आयातले राजस्व संकलनको लक्ष्यमा धक्का लागिरहँदा भन्सार प्रमुख पाठक भने नियन्त्रणका लागि दैनिक गस्ती टोली परिचालन गरिँदै आएको दावी गर्छन् ।

उता, विराटनगर भन्सारले पनि पूर्व निर्धारित राजस्व लक्ष्य हासिल गर्न सकिरहेको छैन् । व्यवसायिक प्रयोजनका सामग्री आयातमा कमी आएपछि राजस्व लक्ष्य कसरी पूरा गर्ने भन्नेमा भन्सार अधिकारी अन्यौलमा छन् ।

चालु आर्थिक वर्षको १० महिना बितिसक्दा पनि विराटनगर भन्सारले लक्ष्यको आधा पनि राजस्व उठाउन नसकेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बताए ।

भन्सार विभागले विराटनगर भन्सारलाई असार मसान्तसम्म ६० अर्ब ३१ करोड ५२ लाखको लक्ष्य दिएको छ । तर, १० महिना बितिसक्दा २७ अर्ब ६६ करोड मात्रै राजस्व उठेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ००:००  ७ : २६ बजे