९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

रासायनिक मलको मूल्य वृद्धिप्रति अखिल नेपाल किसान महासङ्घको आपत्ति



झापा-अखिल नेपाल किसान महासंघ जिल्ला समिति झापाले रासायनिक मलको मूल्य बढाउने सरकारी निर्णयकाे विरोध गरेको छ । किसान महासंघले मंगलबार विज्ञप्ति निकालेर मलखादमा भएको मूल्य वृद्धिप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार फागुन २६ अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी ७ र पोटास ९ रुपैयाँले महँगो पर्ने भएको छ ।

यसअघि १४ रुपैयाँमा यूरिया, ४३ रुपैयाँ किलोमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास मल किन्न पाइने गरेको थियो । सरकारले त्यसमा दिँदै आएको अनुदान पनि कटौती गरेको छ ।

बाली लगाउने बेलासम्म पनि किसानहरुले आवश्यक पर्ने मलखाद र उन्नत जातका बीउ प्राप्त गर्न नसकिरहेका बेला रासायनिक मलको मूल्य बढेपछि किसान महासंघ सरकारसँग असन्तुष्ट भएको छ ।

अखिल नेपाल किसान महासंघ झापाका अध्यक्ष विमल निरौलाले मलखादमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकार तयार हुनुपर्ने बताएका छन् ‌‌‌।

महँगो मूल्य चुकाएर मल खरिद गर्नुपर्ने किसानहरूको बाध्यता हटाइदिन अध्यक्ष निरौलाले सरकारसँग माग पनि गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार ००:००  ८ : ३६ बजे