८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मलमा दिँदै आएको अनुदान कटौती, मूल्य बढाएर सरकारले लियो ‘किसानमारा नीति’



झापा-बाली लगाउने मुख्य सिजनमा किसानलाई मल उपलब्ध गराउन नसक्ने सरकारले ‘किसानमारा नीति’ अवलम्वन गरेको छ । पर्याप्त मल पाउन नसकिरहेका बेला सरकारले अनुदानको मल कटौती गर्दै मूल्य बढाएर किसानमाथि थप व्ययभार थोपर्न खोजेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयम्ले कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रचण्डको जिम्मेवारीमा रहेको मन्त्रालयले फागुन २७ गते मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार फागुन २६ अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी ७ र पोटास ९ रुपैयाँले महँगो पर्ने भएको छ ।

यसअघि १४ रुपैयाँमा यूरिया, ४३ रुपैयाँ किलोमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास मल किन्न पाइने गरेको थियो । त्यसमा दिँदै आएको अनुदान सरकारले कटौती गरेको हो । सरकारी व्ययभार घटाउन अनुदान कटौती भएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

किसानलाई रासायनिक मल उपलब्ध गराउने दायित्वबाट सरकार पन्छिँदै गएको छ । कृषि उपजको लागत बढ्ने गरी सरकारले मलको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पनि मलको मूल्य बढेको छ । मन्त्रालयका अनुसार नेपालमा वार्षिक ५ लाख २० हजार मेट्रिक टन रासायनिक मलको माग छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार ००:००  ८ : २४ बजे