झापा– एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार सुवास नेम्वाङलाई लिएर धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न पुगे । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने लारुम्बा किराँत धर्मको प्रमुख आस्थास्थल मानिन्छ । ओलीले धर्म गुरुमार्फत् आफ्नो पार्टीलाई सहयोग मागेको बताइन्छ ।
किराँत धर्मगुरु फकाउन एमालेमात्रै होइन, हरेक दलका नेता धाउने गर्दछन् । गुरुलाई फकाउनकै लागि दलहरुले माङसेबुङको वडा नम्बर ५ मा उम्मेदवारी समेत दिएनन् । धर्मगुरु लिङ्देनले राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट यसअघि पनि वडाध्यक्ष जितेका नरेन्द्रकुमार राईलाई समर्थन गरेपछि अन्य दलले उम्मेदवारी नदिएका हुन् ।
गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमात्रै होइन, नेकपा एमाले र राप्रपाले समेत त्यहाँ वडाध्यक्षको उम्मेदवारी दिएका छैनन् ।
‘जनमुक्ति पार्टीले पहिले पनि वडाध्यक्ष जितेको हो माङ्सेबुङमा । त्यहाँ हामीले जनमुक्ति पार्टीलाई सघाउने भनेका छौँ । त्यो धार्मिक क्षेत्र पनि हो । जम्मै किराँत धर्ममात्रै मान्ने मतदाता भएका कारण त्यो वडामा चाहिँ चुनाव नगराऔँ भन्ने हिसाबले पनि पहल गरियो,’ माओवादी इलामका नेता धिरेन्द्र शर्मा (रमण)ले भने, ‘त्यो प्रस्ताव मैले नै गरेको थिएँ । पछि गठबन्धनका नेताले त्यही कुरालाई स्वीकार गरे । पछि एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका कारण त्यहाँ सर्वसम्मत भने हुन सकेन । त्यहाँ एमालेले पनि उम्मेदवारी दिएको छैन ।’
सो क्षेत्र पशुबली र मदिरा निषेधित क्षेत्र हो । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । बर्सेनि मंसिर १८ गते धर्मगुरु लिङ्देनको र फागुन ३ गते गुरुधर्मपत्नी साँवा पवित्रहाङमा लिङ्देनको शुभजन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रूपमा मनाइन्छ ।