१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पाथिभरा क्षेत्रमा खानेपानी लैजान सकस



ताप्लेजुङ– पाथिभरा मन्दिर क्षेत्रका लागि सञ्चालित खानेपानी आयोजनाको निर्माणमा अवरोध भएको छ । पाथीभरा देवी दर्शन केवलकार प्रालिले खानेपानीको संरचना तयार भइसकेको जग्गा आफ्नो भएको दावी गरेपछि निर्माण अवरुद्ध भएको हो ।

आयोजनाको ८० प्रतिशत भन्दाबढी काम सकिन लागेको छ । ट्याङ्कीसहित मुख्य संरचना रहने क्षेत्रको जग्गामा विवाद भएपछि निर्माणमा अवरोध भएको छ । करिब चार किलोमिटर तल रहेको मुहानबाट लिफ्टिङ गरी मन्दिरसहित आसपासका बस्तीमा खानेपानी पु¥याउने लक्ष्यसहित आयोजना सुरु भएको थियो ।

सरकारको ७० र उपभोक्ता संस्थाको ३० प्रतिशत लागत रहने गरी गत वर्षको कात्तिकदेखि आयोजना निर्माण अघि बढेको थियो । निजी जग्गा पर्ने भनिएको क्षेत्रमा ५० हजार लिटर क्षमताको एउटा ट्याङ्की र पम्प हाउस निर्माण भएका छन् ।

उपभोक्ता समितिले साउन १० गते बैठक बसेर मुहान र कलेक्सन ट्याङ्की निर्माण हुने ठाउँको जग्गा केवलकार प्रालिको नाममा रहेकाले उक्त क्षेत्रभित्र कुनै पनि संरचना निर्माण नगर्ने र नगराउने निर्णय गरेको छ ।

केवलकार प्रालिसँग समन्वय गरी काम अघि बढाउने तयारीमा रहेको उपभोक्ता समितिका अध्यक्ष गोपाल न्यौपानेले बताए । ‘खानेपानीको संरचना अन्यत्रै बनाउने वा सोही ठाउँमै कायम राख्ने भन्ने विषयमा छलफल भइरहेको छ’, न्यौपानेले भने ।

वर्षौँदेखि खानेपानीको चरम अभावमा परेको पाथीभरा क्षेत्रका बासिन्दा र मन्दिरमा पुग्ने दर्शनार्थी लाभान्वित हुने गरी चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघिल्लो आर्थिक वर्षबाट खानेपानी आयोजनाको काम शुरु भएको थियो ।

आठ करोड २२ लाख १६ हजार ३६० लागतमध्ये उपभोक्ता संस्थाले ३० प्रतिशत अर्थात् रु दुई करोड ४६ लाख ६४ हजार ९०८ व्यहोर्ने सम्झौतामा छ । आयोजनाको मुहान फुङलिङ नगरपालिका–१० स्थित डढेले खोल्सीमा पर्छ ।

मुहानबाट काफ्लेपाटीसम्म ६५ एमएमको जिआइ पाइप र मुहानबाट नै मन्दिरसम्म ८० एमएमको अर्को पाइप जडान हुने आयोजनाले जनाएको छ । मुहानबाट मन्दिरसम्मको दूरी झण्डै चार किलोमिटर पर्छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार ००:००  ३ : २० बजे