झापा– पार्टीको आन्तरिक विवाद किनारा लगाउन सकस परेपछि एमाले प्रष्ट विभाजनको चरणमा प्रवेश गरेको छ । कार्यदल तहमा भएको सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपाल असहमत भएपछि एमाले विभाजनको नजिक पुगेको हो ।
यद्यपि, नेपाल पक्षले देशभर समानान्तर कमिटी गठनलाई तीव्रता दिने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निष्कर्षमा नेपाल पक्ष पुगेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एकपक्षीय रूपमा विधान महाधिवेशन गर्न खोजेको’ भन्दै नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने रणनीति बनाएको छ ।
अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने र अध्यक्षलाई शक्तिशाली बनाउन ओली पक्षले विधान नै संशोधन गर्न खोजेपछि नेपाल पक्षले पार्टी एकताको आधार समाप्त भएको समेत जनाएको छ ।
सोमबारको स्थायी र केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गरेको ओली पक्षले २७ र २८ भदौमा विधान महाधिवेशन गर्दैछ । नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले ओली पक्षको गतिविधिले एकता सम्भावना नरहेको औंल्याए ।