- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा- शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले कृषि, पशुपालन तथा सेवा व्यवसायका क्षेत्रमा स्वरोजगार बन्न चाहने युवालाई लक्षित गरी सहुलियत दरको कर्जा उपलब्ध गराउन थालेको छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत शिक्षा बहुउद्देश्यीय सहकारीले सानो लगानीमा सञ्चालन गर्न सकिने पेशा व्यवसायका लागि युवालाई सहुलियत दरको कर्जा उपलब्ध गराउन थालेको हो ।
स्वरोजगार कर्जाका लागि संस्थाले इच्छुक सदस्यबाट प्रस्ताव आह्वान गरेको थियो । प्राप्त प्रस्तावमध्ये छनोटमा परेका युवालाई अभिमुखीकरण कार्यक्रम आयोजना गरी पहिलो चरणमा ३७ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोष र सहकारी संस्थाबीच कृषि, पशुपालन तथा सेवा व्यवसायका क्षेत्रमा स्वरोजगार बन्न चाहने युवाका लागि ७५ लाख रुपैयाँ लगानी गर्ने गरी गत चैतमा सम्झौता भएको थियो ।
सम्झौता अनुसार प्रतिव्यक्ति अधिकतम् दुई जना लाख रुपैयाँका दरले कर्जा लगानी गरिएको संस्थाका उपाध्यक्ष हेमराज मिश्रले बताए । ‘सहुलियत व्याजदरमा युवाले स्वरोजगार कर्जा पाएका छन्’, उपाध्यक्ष मिश्रले भने, ‘आत्मनिर्भर बन्न चाहने सदस्यलाई यो कर्जाले महत्वपूर्ण काम गर्छ भन्ने हाम्रो विश्वास हो ।’
संस्थाका व्यवस्थापक दीपेशकुमार धौरालीका अनुसार युवाले आठ प्रतिशत व्याजदरमा स्वरोजगार कर्जा पाउँछन् । ४० महिनाभित्र तिरिसक्ने गरी पहिलो चरणमा २२ जना युवालाई कर्जा लगानी गरिएको छ ।
स्वरोजगार कर्जा लगानी गरिएकामध्ये १२ जना महिला छन् । त्यसमा आदिवासी जनजाति समुदायका चारजना छन् ।संस्थाका ऋण अधिकृत राजेन्द्र पोखरेलले कृषितर्फ ६० प्रतिशत र सेवा व्यवसायतर्फ ४० प्रतिशत रकम लगानी गरिएको बताए । संस्थाले अभिमुखीकरण कार्यक्रम आयोजना गरी छनोट भएका युवालाई चेक हस्तान्तरण गरेको छ ।
कोषका जिल्ला सदस्य सचिव सन्तोष सापकोटाले अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्दै उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्ने अभियानमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।
सापकोटाले स्वरोजगार कर्जा लगानीको उद्देश्य, अहिलेसम्म प्राप्त भएको प्रतिफल, लगानी सीमा, व्याज अनुदान फिर्ता, व्यवसाय तथा व्यक्तिको बीमा लगायतका विषयमा प्रष्ट्याउँदै शिक्षा बहुउद्देश्यीय सहकारी संस्थालाई विश्वास गरेर कोषले दोस्रोपटक ७५ लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिए ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाको लेखा समितिका संयोजक युवराज निरौलाले साना व्यवसायको प्रवद्र्धन र सवलीकरणमा सहकारी संस्थाले योगदान गर्दै आएको बताउँदै आगामी दिनमा सहुलियत कर्जाको दायरा फराकिलो बनाउँदै लगिने बताए ।