२२ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

विद्यावारिधि हासिल गरेका धुलाबारी माविका १० पूर्वविद्यार्थी सम्मानित



मेचीनगर– झापाको धुलाबारी माध्यमिक विद्यालयमा अध्ययन गरी विभिन्न विधामा विद्यावारिधि (पीएचडी) हासिल गरेका १० जना पूर्वविद्यार्थी सम्मानित भएका छन् । धुलाबारी माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजले शनिबार विद्यालय परिसरमा पुनर्मिलन तथा सम्मान कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा डा. शैलेन्द्र श्रेष्ठ, डा. टीका भण्डारी, डा. हरि कट्टेल, डा. केदारमणि नेपाल, डा. डिल्लीराम भण्डारी, डा. जीवनमणि पौडेल, डा. कौशल्या शर्मा, डा. सरोज नेपाल, डा. केशव श्रेष्ठ र डा. सरस्वती नेपाल छन् ।

कार्यक्रममा सम्मानित व्यक्तित्व डा. शैलेन्द्र श्रेष्ठ र डा. टीका भण्डारीले विद्यालयमा बिताएका दिनको स्मरण गर्दै आफ्नो शैक्षिक यात्रा र अनुसन्धानका अनुभव सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका पूर्वविद्यार्थी एवम् मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विद्यालयमा अध्ययन गर्दाका स्मरण सुनाउँदै पूर्वविद्यार्थीबिचको एकता र विद्यालयसँगको आत्मीय सम्बन्धको महत्त्व औँल्याए ।

समाजका अध्यक्ष ध्रुव कनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुईटेल र सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैबिच, समाजले तीनवर्षे कार्यकालका लागि हरि कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा लीला भण्डारी, मायामितु न्यौपाने, सन्तोष धमला, भूपेन्द्र कडरिया र सन्तोष प्रसाईं चयन भएका छन् ।

त्यस्तै, महासचिवमा सागर खनाल, सचिवमा यामनाथ रेग्मी र कोषाध्यक्षमा केशव पोखरेल चयन भएका छन् । सदस्यमा योगेन्द्र खनाल, किरण श्रेष्ठ, शिवशंकर साह, सुवास रिजाल र विशान्त कटुवाल चयन भएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, मंगलबार ००:००  ७ : १३ बजे