१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

बिर्तामोडमा दैनिक सवा दुई करोड लिटर खानेपानी उत्पादन



बिर्तामोड-बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले दैनिक २ करोड २५ लाख लिटर पानी उत्पादन गरी उपभोक्तालाई २४ घण्टा वितरण गर्दै आएको जनाएको छ ।

संस्थाको शनिबार सम्पन्न २४ औँ वार्षिक साधारणसभामा अध्यक्ष मेघराज बास्तोलाले पाँचवटा स्किममा रहेका १४ वटा समर्सिबल पम्पमार्फत पानी उत्पादन भइरहेको जानकारी दिए ।

संस्थाले पुराना तथा साना पाइप प्रतिस्थापन गरी ठूला पाइप बिछ्याउने काम गरिरहेको छ । तर, जग्गा प्लटिङ र सडक निर्माणका क्रममा पाइपलाइनमा क्षति पुग्दा खानेपानी वितरणमा समस्या हुने गरेको अध्यक्ष बास्तोलाले बताए ।

आगलागीका बेला दमकललाई पानी उपलब्ध गराउन मुक्तिचोकमा फायर हाइड्रेन्ट जडान गरिएको छ । आवश्यकताअनुसार अन्य स्थानमा पनि यस्तो व्यवस्था विस्तार गरिने संस्थाले जनाएको छ ।

साधारणसभामा संस्थाले ज्येष्ठ उपभोक्ता बिर्तामोड-३ का ७८ वर्षीय लक्ष्मीप्रसाद ओली र बिर्तामोड-५ की ८१ वर्षीया विष्णुमाया गुरुङ तथा लामो समयदेखि कार्यरत कर्मचारी नरप्रसाद कट्टेललाई सम्मान गरेको छ ।

कार्यक्रममा जिल्ला खानेपानी कार्यालय भद्रपुरका प्रमुख सुमन भट्टराई प्रमुख अतिथि थिए । कार्यक्रममा सल्लाहकार लोकबन्धु कन्दङ्वा, जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष शान्ता रोक्का, संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड-५ का वडाध्यक्ष रोहित प्रसाईं, राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड नगर अध्यक्ष दीपक दिनेश दाहाल, नेपाली कांग्रेसका बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष लक्ष्मी गौतम र नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कोषाध्यक्ष शारदा रिजालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष संस्थाको कुल आय ९ करोड ६० लाख ५९ हजार ६१५ रुपैयाँ र कुल व्यय ८ करोड १९ लाख १८ हजार ५६ रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८३/८४ को सुरुवातमा संस्थाको बैंक तथा नगद मौज्दात ६ करोड २५ लाख ९२ हजार ८५२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । साधारणसभामा लेखा समिति संयोजक विष्णुप्रसाद चुडालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गरेको कार्यक्रम सचिव पारसमणि मैनालीले सञ्चालन गरेका थिए । संस्थाले आगामी कार्यकालका लागि मंसिर १४ गते निर्वाचन गर्ने मिति तय गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, आइतबार ००:००  ७ : ४१ बजे