१५५ कोठाको होटल विस्तार गरी दुई चरणमा सञ्चालन गर्ने योजना, ६५० भन्दा बढीलाई रोजगारी दिने लक्ष्य
बिर्तामोड-झापाको बिर्तामोडस्थित होटल किङ्सबरीलाई अन्तर्राष्ट्रिय होटल ब्रान्ड र्याडिसनअन्तर्गत सञ्चालन तथा व्यवस्थापन गर्ने सम्झौता भएको छ । होटललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार र स्तरोन्नति गर्न थप १०० करोड रुपैयाँ लगानी गर्ने योजना अघि सारिएको हो ।
होटल किङ्सबरीका अध्यक्ष रवि शर्मा धिताल र र्याडिसन होटल समूहका उच्च अधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा र्याडिसन समूहका प्रमुख कार्यकारी अधिकृत फेडेरिको गोन्जालेज तथा दक्षिण एसियाका प्रबन्ध निर्देशक एवं प्रमुख सञ्चालन अधिकृत निखिल शर्माको सहभागिता थियो ।
हाल १५५ कोठासहित सञ्चालनमा रहेको होटललाई र्याडिसन ब्रान्डमा रूपान्तरण गरी दुई चरणमा विस्तार गर्ने योजना छ । पहिलो चरण सन् २०२७ को अन्त्यसम्म र दोस्रो चरण सन् २०२८ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको होटलकी कार्यकारी निर्देशक जानु धितालले जानकारी दिइन् ।

होटलका अध्यक्ष धितालका अनुसार सन् २०२४ मा होटलको स्वामित्व लिएपछि त्यसलाई थप व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा प्रदान गर्ने गन्तव्यका रूपमा विकास गर्ने योजना बनाइएको हो । त्यसैअनुसार पूर्वाधार, आवास सुविधा र सेवाहरू विस्तार गर्न थप लगानी गर्ने तयारी गरिएको उनले बताए ।
र्याडिसनसँगको सहकार्यले होटलको सेवा तथा व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । होटलमा आधुनिक पूर्वाधार, स्तरीय आवास सुविधा र पाहुनालाई लक्षित विभिन्न सेवा विस्तार गरिने जनाइएको छ ।
होटल परिसरमा क्यासिनोसमेत सञ्चालनमा छ । विस्तार तथा व्यवस्थापन रूपान्तरणको परियोजनाबाट ६५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखिएको छ । यसले झापा र आसपासका क्षेत्रका युवालाई रोजगारीका अवसर उपलब्ध गराउनुका साथै स्थानीय व्यवसाय, पर्यटन र सेवा क्षेत्रको गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको बिर्तामोडमा अन्तर्राष्ट्रिय होटल ब्रान्डको व्यवस्थापन प्रवेशले व्यावसायिक भ्रमण, सभा-सम्मेलन तथा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना छ ।
होटल व्यवस्थापनका अनुसार यो परियोजना नेपालमा र्याडिसनको व्यवस्थापनअन्तर्गत सञ्चालन हुने पहिलो होटलका रूपमा अघि बढाइएको हो ।
अन्तर्राष्ट्रिय आतिथ्य अनुभव र व्यवस्थापन प्रणालीलाई पूर्वी नेपालको बजारसँग जोड्ने योजनाले क्षेत्रीय पर्यटन पूर्वाधार विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
थप लगानी, अन्तर्राष्ट्रिय ब्रान्डको व्यवस्थापन र रोजगारी सिर्जनाको लक्ष्यसहित अघि बढाइएको यो परियोजनाले बिर्तामोडको होटल तथा पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा होटल व्यवस्थापनले गरेको छ ।


















