बिर्तामोड-झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेका बेला बिर्तामोड नगरपालिकाले ३० वर्षमाथिका ६० हजारभन्दा बढी नागरिकलाई जेईविरुद्धको खोप लगाउने भएको छ । नगरपालिकाले असोज ९ देखि १५ गतेसम्म १० वटै वडामा खोप अभियान सञ्चालन गर्न लागेको हो ।
अभियानका लागि नगरपालिकाले ५६ वटा खोप केन्द्र तोकेको छ । खोप लगाउन ३० जना स्वास्थ्यकर्मी परिचालन गरिने जनस्वास्थ्य निरीक्षक एवं अभियानका फोकल पर्सन गणेश रिजालले जानकारी दिए । उनका अनुसार खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेवक तथा नगर र वडा तहका खोप समन्वय समितिका पदाधिकारीलाई परिचालन गरिएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले अभियान अवधिमा आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन नगरवासीलाई आग्रह गरेकी छन् । उनले लक्षित समूहका सबै नागरिकलाई अभियानमा सहभागी हुन अनुरोध गरेकी हुन् ।
झापामा पछिल्लो समय जेई संक्रमण देखिएपछि खोप अभियानलाई तीव्रता दिइएको हो । जिल्लामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितमध्ये बिर्तामोडका एक जनासहित सात जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार गर्भवती तथा खोपमा प्रयोग हुने सामग्रीबाट एलर्जीको समस्या भएका व्यक्तिले भने यो खोप लगाउन हुँदैन । स्वास्थ्यकर्मीले खोप लिनुअघि आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउन आग्रह गरेका छन् ।
झापाका विभिन्न स्थानीय तहमा जेईविरुद्धको निःशुल्क खोप अभियान असोज ५ गतेदेखि नै सञ्चालन भइरहेको छ । जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी लक्षित नागरिकलाई खोप सेवा दिइँदैछ ।
बिर्तामोडमा भने असोज ९ देखि १५ गतेसम्म सञ्चालन हुने अभियानमा ३० वर्षमाथिका नागरिकलाई प्राथमिकताका साथ खोप दिइनेछ ।


















