बिर्तामोड-भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नेपाल सरकारले बाढीपीडितको उद्धार तथा राहतका लागि गरेको आह्वानलाई समर्थन गर्दै सहारा नेपालले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
सहकारीको सञ्चालक समिति र कर्मचारी परिवारको तर्फबाट उक्त सहयोग रकम प्रदान गरिने सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।
सहारा नेपालले तीन दशकदेखि सहकारी क्षेत्रमा सक्रिय रहँदै सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला सहयोग गर्दै आएको जनाएको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा राज्यसँगै निजी क्षेत्र र विभिन्न संघसंस्थाबाट सहयोग जुट्न थालेको छ ।
सहारा नेपालले बाढीबाट प्रभावित नागरिकको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका काममा थप सहयोग आवश्यक रहेको जनाउँदै देश तथा विदेशमा रहेका नेपालीलाई समेत मानवीय सहयोगमा सहभागी हुन अपिल गरेको छ।
बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहारा नेपालले बेपत्ता तथा आफन्तको खोजी र उद्धारको पर्खाइमा रहेका परिवारजनप्रति सहानुभूति प्रकट गरेको छ ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


















