झापा-सञ्चारकर्मी तथा साहित्यकार लीला अनमोललाई यस वर्षको ‘मनोजबाबु (लक्ष्मीप्रसाद) ओली साहित्य पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ । २१३औँ भानु जयन्तीको अवसरमा कनकाई प्रतिभा प्रतिष्ठान, सुरुङ्गाले आयोजना गरेको कार्यक्रममा अनमोललाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
प्रतिष्ठानका उपाध्यक्ष डा. पुण्यप्रसाद सिग्देलको अध्यक्षता तथा वरिष्ठ कवि एवम् गजलकार केशव आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संस्थापक सचिव तथा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल लगायतले अनमोललाई नगद, सम्मानपत्र, खादा र मालासहित पुरस्कृत गरे ।
सम्मानित व्यक्तित्वको परिचय साहित्यकार सीएम शर्माले गराएका थिए भने सम्मानपत्र योन्देन सुनुवारले वाचन गरेका थिए ।
मातापिता अनिरुद्र ओली र नन्दा ओलीदे स्थापना गरेको उक्त पुरस्कारको अक्षय कोष सञ्चालनका लागि २०७९ चैत २१ गते दाता र प्रतिष्ठानबीच सम्झौता भएको थियो । यसअघि सहप्राध्यापक तथा साहित्यकार होम सुवेदी र साहित्यकार विश्वनाथ राजवंशी उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन्। अनमोल यो पुरस्कार प्राप्त गर्ने तेस्रो स्रष्टा हुन ।
भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सामूहिक राष्ट्रगान, पितृप्रति एक मिनेट मौनधारण तथा ब्यानर वाचनसहित औपचारिक उद्घाटन गरिएको थियो ।
कार्यक्रममा लेखनाथ पुस्तकालय चन्द्रगढीका सभापति नवराज घिमिरे, साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, ऊर्जाशील साहित्य कला प्रतिष्ठान चारपानेका अध्यक्ष डीपी शर्मा, रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओली, साहित्यकार भगवती ढुङ्गेल, देवीचरण भण्डारीलगायत विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथि आचार्य, गङ्गाप्रसाद ओली, देवीभक्त श्रेष्ठ र सम्मानित व्यक्तित्व लीला अनमोलले साहित्य, सिर्जना र सम्मानको महत्वबारे मन्तव्य व्यक्त गरेका थिए । विभिन्न स्रष्टाहरूले कविता वाचनसमेत गरेका थिए ।
अक्षय कोषदाता अनिरुद्र ओलीले स्वागत मन्तव्य राख्दै पुरस्कार स्थापना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए । प्रतिष्ठानका सचिव प्रेम प्रभातले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष डा. सिग्देलले धन्यवाद ज्ञापनसहित समापन गरेका थिए ।


















