बिर्तामोड– विश्व रक्तदाता दिवसको अवसरमा वीरता जेसीजले बिर्तामोडस्थित वन स्टप मलमा आयोजना गरेको रक्तदान कार्यक्रममा २४ पिन्ट रगत संकलन भएको छ ।
‘रक्तदान जीवनदान’ भन्ने नारासहित आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरता जेसीजका पूर्व अध्यक्ष जेसी वेदप्रकाश अग्रवालले रक्तदान मानव सेवाको उत्कृष्ट माध्यम भएको बताउँदै नियमित रक्तदान गर्न आग्रह गर्नुभयो ।
वीरता जेसीजका अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन उपाध्यक्ष जेसी नवराज अधिकारीले गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व तथा संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
वीरता जेसीजले रक्तदानमार्फत समाजमा मानवीय सेवाको भावना प्रवर्द्धन गर्दै यस्ता सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
















