२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको भारत–नेपाल सीमासम्बन्धी अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण पर्याप्त नभएको भन्दै प्रधानमन्त्रीले नै संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने अडान दोहोर्‍याएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्रीकै अभिव्यक्तिका कारण संसद्मा विवाद उत्पन्न भएकाले त्यसको जवाफ पनि प्रधानमन्त्री स्वयंले दिनुपर्ने बताएका हुन् ।

‘जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ । परराष्ट्रमन्त्रीले जवाफ दिएर हुँदैन । किनभने यो उहाँको अभिव्यक्ति होइन,’ थापाले भने, ‘सदनको संकट प्रधानमन्त्रीकै अभिव्यक्तिका कारण आएको हो । त्यसैले त्यसको जिम्मेवारी पनि उहाँले नै लिनुपर्छ ।’

थापाले राष्ट्रिय सीमा, सार्वभौमिकता र छिमेकी मुलुकसँगको सम्बन्धजस्ता संवेदनशील विषयमा सरकार प्रमुखबाट हुने अभिव्यक्ति अत्यन्त जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने बताए । प्रधानमन्त्रीको भनाइले राष्ट्रिय हितमा असर पुर्‍याएको र त्यसबारे सरकार स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म एमालेको विरोध जारी रहने उनले चेतावनी दिए । संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने जिम्मेवारी सरकारकै भएको उल्लेख गर्दै थापाले राष्ट्रिय स्वाभिमान र देशको गरिमासँग सम्बन्धित विषयमा एमाले पछि नहट्ने बताए ।

‘देशको गरिमा र राष्ट्रिय हितको रक्षाका लागि हाम्रो संघर्ष जारी रहनेछ,’ उनले भने । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच विवाद चर्किएको छ ।

सरकारले परराष्ट्रमन्त्रीमार्फत आफ्नो धारणा सार्वजनिक गरे पनि प्रतिपक्षले त्यसलाई अस्वीकार गर्दै प्रधानमन्त्रीबाटै प्रत्यक्ष स्पष्टीकरणको माग गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार ००:००  ५ : ०५ बजे