२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

सिकाइ उपलब्धि सुधारका लागि बिर्तामोडका विद्यालयको नयाँ प्रतिबद्धता



बिर्तामोड– बिर्तामोड नगरपालिकाले शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यसहित शैक्षिक सत्र २०८३ का लागि कार्ययोजना तथा प्रतिबद्धतामा हस्ताक्षर गरेको छ ।

नगरपालिकाको शिक्षा शाखाले आइतवार आयोजना गरेको ‘सिकाइ उपलब्धि सुधार अभियान २०८२’ को प्रगति समीक्षा कार्यक्रममा नगर प्रमुख, शिक्षा प्रशासन र विद्यालयका प्रतिनिधिहरूले संयुक्त रूपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिबद्धतापत्रमा नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीसहित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू सहभागी भएका थिए ।

प्रतिबद्धतामा यसअघि लागू गरिएका २१ बुँदे तथा थप गरिएका ५ बुँदे कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, विद्यार्थीको न्यूनतम सिकाइ स्तरको परीक्षण तथा विश्लेषण गर्ने, सिकाइमा कमजोर देखिएका विद्यार्थीलाई पहिचान गरी उपचारात्मक तथा निर्माणात्मक शिक्षण कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

यस्तै, विभिन्न विद्यालयका निश्चित कक्षाको सिकाइ उपलब्धि विज्ञमार्फत परीक्षण गराई कमजोर नतिजा भएका विद्यालयमा नगरस्तरीय विषयगत समितिबाट सहजीकरण गरिने जनाइएको छ।

नगरपालिकाले सिकाइ उपलब्धि परीक्षा सञ्चालन गरी त्यसको नतिजाका आधारमा विद्यालयसँग अन्तरक्रिया तथा सुधार योजना तयार गर्ने व्यवस्था पनि प्रतिबद्धतामा समेटिएको छ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग भएको कार्यसम्पादन करारलाई विद्यालयस्तरमा शिक्षकसम्म विस्तार गर्दै त्रैमासिक र वार्षिक समीक्षा प्रणालीमार्फत शैक्षिक गुणस्तर सुधारमा जोड दिने योजना पनि अघि सारिएको छ ।

कार्यक्रममा लक्ष्मीनारायण आधारभूत विद्यालय, दुर्गा माध्यमिक विद्यालय, बाल्मिकी एजुकेशन फाउन्डेसन र मोहनमाया माध्यमिक विद्यालयले उत्कृष्ट सिकाइ अभ्यासबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रसाईले विद्यालयहरूले चुनौती र सीमित स्रोतसाधनका बिच पनि शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । उनले हस्ताक्षरित प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै संस्थागत विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरिन् ।

कार्यक्रममा नगर शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेल, नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल तथा विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार ००:००  ८ : ५१ बजे