२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

सिटी सफारीसँग ठोक्किँदा प्रहरी जवानको मृत्यु, चालक फरार



इनरुवा– सुनसरीको कोशी गाउँपालिका-८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका-२ निवासी ३२ वर्षीय रन्दीप पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल र प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारी एकापसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए । दुर्घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

गम्भीर घाइते पौडेलको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको डीएसपी खड्काले बताए । उनी प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए ।

दुर्घटनामा संलग्न सिटी सफारीका चालक कोशी गाउँपालिका-८ निवासी ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार ००:००  ९ : ५८ बजे