काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारको तयारीलाई ‘चरम अलोकतान्त्रिक कदम’ भएको बताएका छन्।
सरकारले विश्वविद्यालय परिसरबाट विद्यार्थी संगठन खारेज गर्ने तयारी अघि बढाएको विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
ज्ञवालीले विद्यार्थी संगठन हटाउने उद्देश्यले विश्वविद्यालयमा सुरक्षा युनिट स्थापना गर्ने निर्णयलाई प्राज्ञिक स्वायत्तामाथिको हस्तक्षेपको रूपमा टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै प्रत्यक्ष असर पार्नेछ।
‘पञ्चायती निरंकुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूहरूले कसरी हस्ताक्षर गर्न सक्नुभयो होला ?’ उनले प्रश्न गरेका छन्।
विद्यार्थी आन्दोलनमा पछिल्ला समय केही विचलन देखिए पनि त्यसलाई प्रतिबन्ध लगाएर समाधान ननिस्कने ज्ञवालीको तर्क छ। शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी आन्दोलनलाई रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिएका छन्।
‘विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन,’ उनले लेखेका छन्, ‘समाधान त उनीहरूसँग संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण हो।’
विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई उनले समस्याको उपचारभन्दा अधिकार कुण्ठित गर्ने उपायका रूपमा व्याख्या गरेका छन्। ‘के तपाईं कपालमा चाया पर्यो भनेर गर्दन नै छिनाउनुहुन्छ ?’ भन्दै उनले सरकारको कदममाथि प्रश्न उठाएका छन्।
















