५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

झापामा कांग्रेसको ‘जरा अभियान’ : क्रियाशील सदस्यता डिजिटल अद्यावधिक गरिने



बिर्तामोड– नेपाली कांग्रेसले क्रियाशील सदस्यताको अद्यावधिकमार्फत पार्टीलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरेको ‘जरा अभियान’ झापामा पनि सुरु गरेको छ। अभियानको सुरुआतका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराई र रुद्रबहादुर कन्दङ्वाको उपस्थितिमा शुक्रबार बिर्तामोडमा बृहद् बैठक गरिएको हो।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि भट्टराईले क्रियाशील सदस्यता वितरणमा देखिएका अनियमितता नियन्त्रण गर्दै वास्तविक सदस्य पहिचान गर्न अभियान थालिएको बताए। उनले पार्टीको नीति, विचार, सिद्धान्त र अनुशासन पालन गर्ने सदस्यलाई मात्रै अद्यावधिक प्रक्रियामा समेटिने स्पष्ट पारे।

भट्टराईले विशेष महाधिवेशनको बन्दसत्रबाट समेत सदस्यता अद्यावधिकको विषय पारित भइसकेको उल्लेख गर्दै कांग्रेसलाई नयाँ र प्रविधियुक्त बनाउने अभियानमा सहभागी हुन नेता-कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीभित्र पुराना नेताको योगदानको सम्मान हुने भन्दै कसैलाई काखा–पाखा नगरिने दाबी गरे।

अर्का केन्द्रीय प्रतिनिधि कन्दङ्वाले थापा नेतृत्वको कांग्रेसले कानुनी वैधता प्राप्त गरेसँगै पार्टीभित्रको विवाद अन्त्य भएको बताए। उनले क्रियाशील सदस्यता खारेज नभई व्यवस्थित र डिजिटल माध्यमबाट अद्यावधिक गर्न लागिएको जानकारी दिए।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले अभियान सफल बनाउन क्षेत्र, प्रदेशसभा, पालिका र वडा तहका समितिलाई सक्रिय हुन निर्देशन दिँदै तोकिएको समयसीमाभित्र सदस्यता अद्यावधिक सम्पन्न गरिने बताए।

कार्यक्रममा बोल्ने नेताहरूले पार्टीभित्रको आन्तरिक विवाद न्यायिक प्रक्रियाबाट टुंगिएको भन्दै अब संगठनलाई राजनीतिक रूपमा एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले वडा तहसम्म अभियान पुर्‍याएर केन्द्रले निर्धारण गरेको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

जिल्ला कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय सदस्य, पूर्वसांसद, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार ००:००  ३ : ५४ बजे