१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

काङ्ग्रेसको एक महिने ‘जरा अभियान’ : आफैँ उपस्थित भए मात्र सदस्यता अद्यावधिक



काठमाडौँनेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका-३० मा आफ्नै सदस्यता अद्यावधिक गर्दै ‘एक महिने जरामा जाऊँ अभियान’ को शुभारम्भ गरेका हुन् ।

कांग्रेसले सदस्यता अद्यावधिक र संगठन पुनर्संरचना गर्ने उद्देश्यसहित अभियानलाई ‘जरा अभियान’ का रूपमा अगाडि बढाएको जनाएको छ । सभापति थापाका अनुसार संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने लक्ष्यसहित सुरु गरिएको अभियान वैशाख मसान्तसम्म सञ्चालन हुनेछ ।

उनले पार्टीको सदस्यता लिएपछि पार्टीको चुनाव चिह्नबाहेक अन्यत्र मतदान गर्न नपाइने स्पष्ट पारे । कार्यसम्पादन समितिको बैठकबाट भातृ संस्थालगायतका विषयमा महत्वपूर्ण निर्णय हुने उल्लेख गर्दै उनले पार्टी महाधिवेशनतर्फ केन्द्रित भइरहेको बताए ।

पार्टीको विधान र अनुशासनभन्दा बाहिरका गतिविधि स्वीकार्य नहुने चेतावनी दिँदै थापाले अनावश्यक विवाद नगर्न र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । त्यस्तै, नयाँ सरकारले अघि सारेका विधिसम्मत काममा पार्टीको पूर्ण साथ र सहयोग रहने उनले बताए ।

अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ । सदस्यता अद्यावधिक गर्न सम्बन्धित वडामै उपस्थित हुनुपर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।

विगतमा अरूले सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू निष्क्रिय भएको ठहर गर्दै यसपटक आफ्नै उपस्थितिमा नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार ००:००  ४ : २८ बजे