५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

मेची राजमार्गमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते



झापा– झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब साढे ४ बजे चारआलीबाट बुधबारेतर्फ जाँदै गरेका दुई मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका थिए। श्रेष्ठलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएकोमा साँझ ५ः१० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा परी सुनसरी धरान–१५ का २७ वर्षीय मनीकुमार देवान, इटहरी उपमहानगरपालिका–५ का २७ वर्षीय अनिश बस्नेत, इटहरी–५ का २९ वर्षीय नन्दबहादुर मगर र इटहरी–१७ का २९ वर्षीय कमल मगर घाइते भएका छन्। उनीहरूको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार ००:००  ७ : २९ बजे