१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सडकपेटी खाली गराउने अभियानमा व्यवसायी असन्तुष्ट, ‘संवादबाट समाधान खोजौं’



बिर्तामोड– बिर्तामोड नगरपालिकाले बजार क्षेत्रमा सडकपेटी खाली गराउने अभियान कडाइका साथ अघि बढाएपछि स्थानीय उद्योगी-व्यवसायी असन्तुष्ट देखिएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले शुक्रबार विज्ञप्ति जारी गर्दै व्यवसायीका सामग्री नियन्त्रणमा लिने शैलीप्रति आपत्ति जनाएको हो । संघका अनुसार यस्तो कदमले विशेषगरी साना तथा मझौला व्यवसायीको दैनिक आम्दानीमा असर परेको छ ।

अहिलेको आर्थिक सुस्तताबीच व्यवसायीहरू पहिले नै दबाबमा रहेको उल्लेख गर्दै संघले थप कडाइले बजारको वातावरण झन् जटिल बन्न सक्ने चेतावनी दिएको छ ।

संघका कार्यवाहक अध्यक्ष गोमा भट्टराई र महासचिव कुशल खतिवडाले स्थानीय सरकारको दायित्व व्यवसायीलाई संरक्षण र सहजीकरण गर्नु भएको स्मरण गराउँदै व्यवस्थापनको नाममा दण्डात्मक शैली अपनाइनु नहुने बताए ।

सार्वजनिकस्थल व्यवस्थित बनाउने अभियानप्रति आफूहरू सकारात्मक भए पनि व्यापार सञ्चालनसँग प्रत्यक्ष जोडिएका सामग्रीसमेत नियन्त्रणमा लिँदा साना व्यवसायी बढी प्रभावित भएको संघको भनाइ छ ।

संघले नियन्त्रणमा लिइएका सामग्री फिर्ता गर्न र जरिवाना नगर्न नगरपालिकासँग माग गरेको छ । साथै, सडकपेटी व्यवस्थापन स्पष्ट मापदण्डका आधारमा र सरोकारवालासँगको संवादपछि मात्रै अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार ००:००  ७ : २० बजे