१० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026

बिर्तामोडमा सन्थाल गोल्डकप सुरु : हात्तीमारा सेमिफाइनलमा



बिर्तामोड– झापाको बिर्तामोडमा प्रथम सन्थाल गोल्डकप सुरु भएको छ। उद्घाटन खेलमा हात्तीमारा फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न खेलमा हात्तीमाराले विहानी सन्थाल क्लबलाई १–० गोल अन्तरले पराजित गर्‍यो। खेलको आठौं मिनेटमै शंकर किस्कुले गरेको गोल नै निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शनका लागि किस्कु म्यान अफ द म्याच घोषित हुँदै १५ हजार रुपैयाँ प्राप्त गरे।

सन्थाल जाति उत्थान सेवा समाजद्वारा आयोजित प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले गरे। उनले प्रतियोगिताले सन्थाल समुदायमा खेलाडी उत्पादन र संरक्षणमा टेवा पुग्ने बताए।

बिर्तामोड नगरपालिका संरक्षक रहेको प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुनेछ। विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

आयोजकका अनुसार आइतबार मदरगाछ फुटबल क्लब र बान्चाभिट्टा सिर्जन क्लब, पश्चिम बंगालबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार ००:००  ८ : २७ बजे