१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

नेपाली कांग्रेस झापाद्वारा संसद विघटन असंवैधानिक भएको ठहर



बिर्तामोड-नेपाली कांग्रेस झापा र यसका मातहतका समितिहरूले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको संसद विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै यसप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।

झापाका सभापति, पाँचवटै क्षेत्रीय, दशवटै प्रदेशसभा क्षेत्रीय र १५ वटै गाउँ–नगर सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकट समाधानका लागि संवैधानिक विकल्पहरू प्रस्तुत गरेका छन् ।

विज्ञप्तिमा संसद विघटन गर्नुअघि संविधान संशोधनका लागि प्रतिनिधिसभाको बैठक तत्काल बोलाउनुपर्नेमा जोड दिइएको छ ।

बैठकले विषम परिस्थितिमा छ महिनादेखि एक वर्षसम्मका लागि राष्ट्रिय सभाका सदस्यलाई पनि प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधन गर्नुपर्ने सुझाव दिइएको छ ।

साथै, जेन जीले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रिय सभामा राष्ट्रपतिको कोटाबाट मनोनित गरी मन्त्रीमण्डल गठन गर्नुपर्ने र त्यसपछि संविधान संशोधन गरी प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गर्नुपर्ने विकल्प अघि सारिएको छ ।

कांग्रेस झापाले चुनावी मिति घोषणापछि उम्मेदवारी दर्ता सुरु भएर मनोनयन भएपछि प्रतिनिधिसभा स्वतः विघटन हुने तथा तोकिएको मितिमा चुनाव सम्पन्न नभएमा वा नगराउने नियत राखेमा हालको प्रतिनिधिसभाको अवधि बराबर स्वतः पुनःस्थापना हुने गरी संविधानमै व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ ।

यो नै सर्वस्वीकार्य र वैधानिक बाटो हुने उनीहरूको भनाइ छ ।विज्ञप्तिमा जेन जीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी प्रतिगामी र माफिया तत्वले राष्ट्रलाई बर्बादीतर्फ धकेलेको आरोप लगाइएको छ ।

लुटपाट र आगजनीका घटनामा संलग्नहरूको भिडियो फुटेज र अन्य प्रमाणका आधारमा कडा कानूनी कारवाहीको माग गर्दै, लगिएका हतियार तथा सरसामान फिर्ता गर्न र बन्दीगृहबाट निस्केका कैदीबन्दीहरूलाई कानून पालनामा सहयोग गर्न आह्वान गरिएको छ ।

वर्तमान विषम परिस्थितिको फाइदा उठाएर आपराधिक समूहले लुटपाट गर्ने सम्भावना रहेको भन्दै गाउँ÷टोल सुरक्षा समिति गठन गरी रात्री गस्तीमार्फत जनधनको सुरक्षामा सहयोग पुर्याउन पनि अपिल गरिएको छ ।

देशघाती प्रतिगामी तत्वले लोकतन्त्र समाप्त गरी जनताका अधिकार खोस्ने र चुनाव पनि नगराउने षडयन्त्र गरिरहेको भन्दै देशभक्त लोकतान्त्रिक गणतन्त्रवादी जनसमुदायलाई सचेत रहन र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्न तयार रहन आह्वान गरिएको छ ।

विज्ञप्तिमा जेन जी पुस्ताले लोकतन्त्रको रक्षा र भ्रष्टाचार विरुद्ध देखाएको दृढ प्रतिबद्धताको सराहना गर्दै, आन्दोलनमा हिंसा भड्काउने लोकतन्त्र विरोधी, प्रतिगामी माफिया तत्वले राष्ट्रको खरबौंको सम्पत्ति नष्ट गरेको उल्लेख छ ।

यो तत्व संकटकाल लगाई जनताका अधिकार खोस्ने र प्रतिगामी राजतन्त्र ब्युँताउने खेलमा लागेको सूचना आइरहेको भन्दै, राष्ट्रपति रामचन्द्र पौडेलले जेन जीकै चाहना अनुसारको व्यक्तिलाई प्रधानमन्त्री बनाई संविधानको रक्षामा अडिग रहेकोमा प्रशंसा गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार ००:००  ५ : ३७ बजे