भोजपुर– टेम्केमैयुङ गाउँपालिकामा करिब ३ करोड २१ लाख रुपैयाँको लागतमा अत्याधुनिक कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
आर्थिक करिडोर पाख्रीबासको सहयोगमा निर्माण भएको यो सुविधासम्पन्न भवनमा आधुनिक प्रयोगशाला र आवश्यक उपकरणहरू जडान गरिएको छ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार, यो केन्द्रले किसानहरूको आर्थिक उन्नतिमा टेवा पुर्याउनुका साथै कृषि तथा पशुपालनमा देखिने रोगहरूको अनुसन्धान र उपचारमा सहजता ल्याउनेछ ।
भवनमा कृषि र पशुका लागि छुट्टाछुट्टै प्रयोगशाला भएकाले रोग र कीराको पहिचान गरी तत्काल समाधान खोज्न सकिने प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताउनुभयो।
अपाङ्गमैत्रीसमेत रहेको यस भवनबाट स्थानीय किसानले गुणस्तरीय सेवा, रोग कीराको अनुसन्धान र उत्पादन वृद्धिमा प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।



















