१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

चोरिएको मोटरसाइकल भारततर्फ लैजाँदै गर्दा दुईजना युवा मेची पुलबाट पक्राउ



भद्रपुर-मोरङमा मध्यरातमा घरको कम्पाउन्डबाटै चोरिएको मोटरसाइकल भारततर्फ लैजाँदै गर्दा दुईजना युवा झापाको मेची पुलबाट पक्राउ परेका छन्। सीमा क्षेत्रमा प्रहरीले गरेको कडा निगरानी र विशेष सूचनाको आधारमा उनीहरूलाई रंगेहात पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, पक्राउ पर्नेमा गौरीगन्ज गाउँपालिका–५ का २० वर्षीय प्रकाश यादव र बिर्तामोड नगरपालिका–१ का २० वर्षीय ओमप्रकाश खड्का रहेका छन्। उनीहरूको साथबाट मोरङको रतुवामाई नगरपालिका–४ की पुष्पमाया खतिवडाको नाममा दर्ता रहेको ३० प ९६७७ नम्बरको मोटरसाइकल बरामद भएको छ।

यसरी रचिएको थियो चोरीको योजना
गत साउन ३० गते मध्यरातमा खतिवडाको घरमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको थियो। घरधनीले मोटरसाइकल हराएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। चोरी भएको मोटरसाइकल सीमापारि भारततर्फ लैजान सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सोही क्रममा, चोरीको मोटरसाइकल भद्रपुर नाका हुँदै भारततर्फ लैजान लागिएको भन्ने विशेष सूचना प्रहरीले प्राप्त गर्‍यो। सूचनाको आधारमा सोमबार भद्रपुर-५ स्थित मेची पुलमा खटिएको प्रहरी टोलीले कडा चेकजाँच सुरु गरेको थियो। सोही क्रममा यादव र खड्का उक्त मोटरसाइकलसहित भारततर्फ जाँदै गर्दा प्रहरीको फन्दामा परेका हुन्।

अनुसन्धानका लागि मोरङ प्रहरीको जिम्मा
पक्राउ परेका दुवै युवालाई बरामद गरिएको मोटरसाइकलसहित आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, सिजुवा, मोरङमा पठाइएको झापा प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार ००:००  २ : २४ बजे