इटहरी-सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भएको यस दुर्घटनामा एक विङ्गर भ्यान र बस आपसमा ठोक्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले दिएको जानकारी अनुसार, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गरले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आएको मे १ ख १७९९ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना भोक्राह नरसिंह-३ स्थित फुलचौकीमा भएको थियो ।प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका तीनै जना पुरुषको सनाखत हुन बाँकी छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ ।
अन्य १३ जना घाइतेको उपचार भोक्राह नरसिंहमा रहेको ग्लोबल कार्डियो अस्पतालमा भइरहेको छ । घटनापछि तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो । हाल, दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















