जीवन उप्रेती, काठमाडौँ-सडकमा बढ्दो अराजकता र ट्राफिक नियम उल्लङ्घनलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउने तयारी गरेको छ ।
प्रस्तावित ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ मा जरिवाना रकम ५ सयदेखि ५० हजार रुपियाँसम्म पुर्याइएको छ भने सवारी दुर्घटनामा कसैको ज्यान गएमा र चालकको मनसाय प्रमाणित भएमा जन्मकैद सम्मको सजाय प्रस्ताव गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको यो विधेयकको मसौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । मन्त्रालयका अनुसार, हालको जरिवाना प्रणाली अत्यन्तै कमजोर हुँदा चालकहरूले सजिलै नियम मिच्ने प्रवृत्ति बढेकाले ऐनमा आमूल परिवर्तन गर्न लागिएको हो ।
मन्त्रालयका सहसचिव तथा पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थका अनुसार, नयाँ ऐनको मुख्य उद्देश्य यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु हो । उहाँले भन्नुभयो, ‘अहिलेको जरिवाना रकम एकदमै कम भयो । थोरै पैसा तिरेर उन्मुक्ति पाइने भएपछि नियम मान्ने बानी हराउँदै गयो ।’
पन्थले यो ऐन लागू भएपछि सडक दुर्घटना र नियम उल्लङ्घनका घटनामा उल्लेख्य कमी आउने विश्वास व्यक्त गर्नुभयो ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले पनि नयाँ र कडा कानुनको आवश्यकतालाई पुष्टि गर्छ ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार, काठमाडौँ उपत्यकामा मात्रै मासिक करिब ९० हजार सवारी साधन नियम उल्लङ्घन गरेको कसुरमा कारबाहीमा पर्ने गरेका छन् । उहाँले भन्नुभयो, ‘यो तथ्याङ्कले सडक अनुशासनको अवस्था कति कमजोर छ भन्ने देखाउँछ ।’
जरिवाना बढाउने र कारबाहीको दायरा फराकिलो बनाउने सरकारी प्रस्तावलाई ट्राफिक प्रहरीले स्वागत गर्ने प्रवक्ता गिरीले बताउनु भयो । नयाँ विधेयकमा ३४ वटा गल्तीमा तत्काल कारबाही र जरिवानाको व्यवस्था गरिएको छ।
के-के गल्तीमा कति जरिवाना ? केही प्रमुख व्यवस्थाहरू यस्ता छन्:
- चोरीको सवारी चलाएमा: रु. ५०,००० जरिवाना ।
- अरूलाई हानि पुग्ने गरी लापरबाहीले चलाएमा: रु. २५,००० जरिवाना ।
- जाँचपास नगरेका सवारी चलाएमा: दुईपाङ्ग्रेलाई रु. ५,०००, साना सवारीलाई रु. १०,००० र ठुला सवारीलाई रु. १५,००० जरिवाना ।
- तोकिएको गतिभन्दा तीव्र चलाएमा: रु. ५,००० जरिवाना ।
- लामो दूरीमा ८ घण्टामा चालक नफेरेमा: रु. ५,००० जरिवाना ।
- सार्वजनिक सवारीमा खतरा हुने गरी सामान राखेमा: रु. ३,००० जरिवाना ।
- राति बत्ती नबाली सवारी चलाएमा: रु. २,००० जरिवाना ।
- सडकमा फोहोर फालेमा: रु. १,००० जरिवाना ।
- निषेधित क्षेत्रमा हर्न बजाएमा: रु. ५०० जरिवाना ।



















