बिर्तामोड-झापाको बिर्तामोड नगरपालिकामा जनप्रतिनिधिबीचको विवादले नाटकीय मोड लिएको छ । सामाजिक सञ्जालमा गरिएको एक टिप्पणीलाई लिएर वडाध्यक्षले उपप्रमुखको कार्यकक्षमै हुलहुज्जत र आक्रमण प्रयास गरेपछि सुरु भएको विवाद सडक प्रदर्शनसम्म पुगेको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्र, राप्रपा र रास्वपासहितका तीन दलले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाविरुद्ध नगरपालिका कार्यालय अगाडि नाराबाजी गरेका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार, वडा नं. ८ का अध्यक्ष अजय कार्कीले उपप्रमुख संग्रौलाले सामाजिक सञ्जालमा आफ्नो विरुद्ध गरेको टिप्पणीलाई लिएर उनीमाथि जाइलाग्ने योजना बनाएका थिए ।
बुधबार उपप्रमुखको कार्यकक्षमा मेलमिलापकर्ताहरूको समीक्षा बैठक चलिरहेकै बेला कार्की २५-३० जनाको समूहसहित प्रवेश गरी उपप्रमुखमाथि जाइलागेका थिए ।
गैर-नेपालीलाई नागरिकता दिएको मुद्दा खेपिरहेका कार्कीले “पाठ सिकाउने” चेतावनी दिँदै अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।
कार्यपालिकाको निन्दा, वडाध्यक्ष अनुपस्थित
घटनालगत्तै, नगरपालिकाले बिहीबार विवाद समाधानका लागि कार्यपालिका बैठक बोलाएको थियो, जसमा आरोपित वडाध्यक्ष कार्की अनुपस्थित रहे ।
बैठकपछि कार्यपालिकाले एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष कार्कीको व्यवहारले सिंगो नगरपालिकाको गरिमामाथि प्रहार गरेको भन्दै उक्त कार्यको भर्त्सना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “आपसी मतभेद र लाञ्छनालाई मेलमिलापबाट निवारण गर्न अनुरोध गर्दछौं। अन्याय भएको महसुस भएमा दुवै पक्षलाई कानुनी उपचार खोज्ने विकल्प खुल्ला छ।”
एकातर्फ कार्यपालिकाले वडाध्यक्षको कदमको आलोचना गरिरहेको छ भने अर्कोतर्फ, तीन राजनीतिक दलले उपप्रमुख संग्रौलालाई नै निशाना बनाएर प्रदर्शन गरेका छन् ।
शुक्रबार उनीहरूले नगरपालिकाको मुख्य गेटमा बसेर उपप्रमुखविरुद्ध नाराबाजी गरे, जसले गर्दा यो विवाद अब व्यक्तिगत तहबाट राजनीतिक रङमा परिणत भएको छ ।
उपप्रमुख संग्रौलाले वडाध्यक्ष कार्कीको रवैयाले सीमा नाघेको र यो अस्वीकार्य भएको बताउँदै आएका छन् । यस घटनाले बिर्तामोड नगरपालिकाभित्रको आन्तरिक शक्ति संघर्ष र जनप्रतिनिधि बीचको चरम अविश्वासलाई सतहमा ल्याइदिएको छ।



















