१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

लागूऔषधसहित मेडिकल सञ्चालक पक्राउ



उर्लाबारी-सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि पसल नै प्रतिबन्धित लागूऔषधको अवैध कारोबारको केन्द्र बनेको रहस्य खुलेको छ ।

मोरङको केराबारी गाउँपालिका-७ स्थित एक मेडिकल सञ्चालकलाई प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधि सहित पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।

प्रहरीले केराबारीस्थित ‘मुगु मेडिकल’ का सञ्चालक, बेलबारी नगरपालिका-८ का २८ वर्षीय मनिष कुँवरलाई पक्राउ गरेको छ ।

उक्त मेडिकलबाट प्रतिबन्धित औषधिको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा मेडिकलभित्र चलाखीपूर्वक लुकाइराखेको अवस्थामा प्रतिबन्धित औषधिहरू डिकोलिक ४ हजार ५ सय ट्याब्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेट गरी कुल ९ हजार ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

बिरामीलाई जीवनदान दिने पवित्र स्थलकै दुरुपयोग गरी लागूऔषधको सञ्जाल चलाएको आरोपमा पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार ००:००  ८ : ५९ बजे