बिर्तामोड-झापा जिल्लामा डेंगु संक्रमणको अवस्था चिन्ताजनक बन्दै गएको छ । स्वास्थ्य कार्यालय झापाले उपलब्ध गराएको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको वैशाखदेखि साउन ५ गतेसम्मको अवधिमा १ हजार ७९८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
संक्रमणको सबैभन्दा बढी प्रभाव बिर्तामोड नगरपालिकामा देखिएको छ, जहाँ ९३२ जना संक्रमित भएका छन् । त्यसैगरी, दमक नगरपालिकामा ५३६ र बुद्धशान्ति गाउँपालिकामा २३२ जनामा संक्रमण फैलिएको छ ।
स्वास्थ्य कार्यालयका फोकल पर्सन युवनाथ बरालका अनुसार, यसवर्ष डेंगुका कारण झापामा एक जनाको ज्यान समेत गइसकेको छ । साउन ५ गते मात्रै जिल्लामा ३ नयाँ बिरामी थपिएका थिए, जसले संक्रमणको जोखिम कायमै रहेको देखाउँछ ।



















