१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

विपद् व्यवस्थापनमा मेचीनगरको अग्रसरता : २० मिनेटभित्रै उद्धारमा पुग्ने प्रतिबद्धता



मेचीनगर– मेचीनगर नगरपालिकाले आसन्न मनसुनजन्य विपद्‌बाट हुने क्षति न्यूनीकरण गर्न र राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सर्वदलीय तथा सरोकारवालाहरूको बैठक सम्पन्न गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रतिकार्यका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले दमकल, एम्बुलेन्स, स्काभेटरजस्ता उपकरण तयारी अवस्थामा राख्ने, आवश्यक तारजाली र बोरा खरिद गर्ने, र सूचना आदानप्रदानका लागि सम्पर्क व्यक्तिहरूको म्यासेज ग्रुप बनाउने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।

साथै, तत्काल उद्धारका लागि द्रुत प्रतिकार्य टोली (RRT) र नगरका १५ वटै वडामा सुरक्षाकर्मीसहितको २५ सदस्यीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख बुढाथोकीले नगरको कुनै पनि स्थानमा विपद् आइपरेमा सडक अवरुद्ध नभए २० मिनेटभित्रै उद्धार टोली पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, रेडक्रस, उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरूले विपद् व्यवस्थापनमा नगरपालिकासँग पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । बैठकले विपद् पूर्वतयारी, प्रतिकार्य र सहकार्यमा जोड दिएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार ००:००  ४ : २१ बजे