काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजसंस्था, कम्युनिष्ट आन्दोलन र स्वयं नेपाली कांग्रेसले समेत बीपी कोइरालाको दर्शन र व्यवहारलाई सही समयमा बुझ्न नसक्दा मुलुकले ठूलो मूल्य चुकाउनुपरेको विश्लेषण गरेका छन् ।
शर्माले बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर ‘राजा र मेरो गर्दन जोडिएको छ’ भन्दै सहकार्यको प्रस्ताव गर्दा दरबारले त्यसको मर्म बुझ्न नसकेका कारण अन्ततः राजसंस्था नै समाप्त भएको टिप्पणी गरे । “दरबारले बीपीलाई बुझेको भए आज नागार्जुनको डाँडामा बसेर गणतन्त्र हेर्नुपर्ने अवस्था आउने थिएन,” उनले भने।
शर्माले कम्युनिष्ट आन्दोलनप्रति लक्षित गर्दै कार्ल मार्क्सको आर्थिक दर्शनभन्दा माथि उठेर बीपीले “मानिस रोटीले होइन, मस्तिष्कले चल्छ” भन्ने मानवीय दर्शन दिएको बताए। उनका अनुसार, यदि कम्युनिष्टहरूले यो मर्म समयमै बुझेको भए नेपालले हिंसात्मक द्वन्द्व र ठूलो पीडा भोग्नुपर्ने थिएन।
आफ्नै पार्टीप्रति आत्मसमीक्षा गर्दै महामन्त्री शर्माले बीपीले विधानमा नलेखिए पनि व्यवहारमा समावेशीतालाई अभ्यास गरेको तर पछिल्लो समय कांग्रेसले त्यसलाई गहिरोसँग आत्मसात् गर्न नसक्दा पार्टीभित्र गुटबन्दी बढेको स्वीकार गरे।
महामन्त्री शर्माले व्यक्त गर्नु भएको विचार जस्ताको तस्तै :
नेपालको राजसंस्थाले, राजाहरूले बुझ्ने सन्दर्भमा गरेको कमजोरीको अर्को पाटो छ । यदि बिपी कोइरालाले मेलमिलापको नीति लिएर आइसकेपछि, राजसंस्थाको प्रतिनिधिको रूपमा राजा र लोकतन्त्रको प्रतिनिधिको रूपमा आफूलाई राखिराखेर, “राजा र मेरो गर्दन जोडिएको छ” भनेको कुरोलाई अपव्याख्या दरबारले नगरेको भए, दुइटा गर्दन सँगै जोडिएका छन् अर्थात् सँगसँगै सहयात्रा गर्नुपर्ने छ भन्ने कुरालाई दरबारले आत्मसात् गरेको भए, सँगै जोडिएको गर्दनमा एउटा गर्दनलाई प्रहार गरिरहँदै गर्दा अर्को गर्दन कुनै दिन छिनालिन सक्छ भन्ने कुरालाई दरबारले बुझेको भए, आज नागार्जुनको डाँडामा बसेर यो लोकतान्त्रिक गणतन्त्रलाई हेरिरहनुपर्ने अवस्था नेपालको राजसंस्थाले नआउन सक्थ्यो। बिपीलाई नबुझ्नुको परिणाममा एउटा जंगलको कुनामा गएर नेपालको राजसंस्था थन्कियो।
कम्युनिस्ट दर्शनले, कार्ल मार्क्सले जे विचार भनेर जानुभएको थियो, मान्छेलाई हेर्दै गर्दा आर्थिक कोणबाट मात्रै हेर्ने जुन विचार थियो, त्यसलाई “Man is conducted by brain, not by bread” भनेर बिपी कोइरालाले, मान्छे मस्तिष्कबाट परिचालित हुन्छ भनेर भनेको दर्शनलाई नेपालको कम्युनिस्ट आन्दोलनले समयमै बुझेको भए सायद धेरै हिंसात्मक द्वन्द्वहरू, धेरै पीडाहरू नेपाल देशले बेहोर्नु पर्ने थिएन। हामीले पनि, नेपाली कांग्रेसले पनि, बिपीले संविधानमै नलेखिकन, विधानमै नलेखिकन समावेशीतालाई जुन ढंगले अभ्यासमा ल्याउनुभयो, त्यसलाई गहन रूपमा चाहिँ पछिल्लो कालखण्डमा गएको भए सायद कतिपय साना दोकानहरूको वृद्धि हुने र हाम्रो ठूलो डिपार्टमेन्टल स्टोर खाली हुने खालको अवस्था आउने थिएन।



















