१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

नेपालको वैदेशिक व्यापार घाटा १५ खर्ब २७ अर्ब रुपैयाँ



काठमाडौँ -आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भए तापनि बढ्दो आयातका कारण मुलुकको समग्र व्यापार घाटामा चाप परेको छ।

भन्सार विभागले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार घाटा बढेर १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।

यो घाटा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा करिब ६ प्रतिशतले बढी हो। गत वर्ष नेपालले १४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो।

तथ्याङ्कले निर्यातमा भने उत्साहजनक नतिजा देखाएको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको १ खर्ब ५२ अर्ब को तुलनामा ८१.८० प्रतिशतले बढी हो।

तर, निर्यातको यो वृद्धिलाई आयातको तीव्र विस्तारले ओझेलमा पारेको छ। समीक्षा अवधिमा वस्तु आयात १३.२५ प्रतिशतले बढेर १८ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ ।

कुल वैदेशिक व्यापार २० खर्ब ८ अर्ब रुपैयाँ पुग्दा आयातको हिस्सा अत्यधिक रहन गएको हो । भारत र चीनजस्ता मुलुकसँगको बढ्दो परनिर्भरता र उपभोग्य वस्तुको उच्च आयातले व्यापार घाटाको खाडल फराकिलो बनाउन भूमिका खेलेको देखिन्छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार ००:००  ३ : २० बजे