बिर्तामोड– झापाको बिर्तामोडस्थित होटल द किङ्सबरीको हल शनिबार वक्तृत्वकला, नेतृत्व र उत्सवको त्रिवेणीले गुञ्जायमान थियो । अवसर थियो, जिल्ला ४१ अन्तर्गत रहेको झापा टोस्टमास्टर्स क्लबको चौथो वार्षिक उत्सव ‘सिम्फनी ४.०’ को, जहाँ १०० भन्दाबढी व्यक्तित्वहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता, डिस्टिङ्ग्विश्ड टोस्टमास्टर तथा जिल्ला ४१ का पूर्व डाइरेक्टर सुमन शाक्यले ‘डर बिना बोलौं’ शीर्षकमा दिनु भएको उत्प्रेरणात्मक मन्तव्यले सबैलाई मन्त्रमुग्ध बनायो ।
कार्यक्रमका प्रमुख अतिथि, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले क्लबले समाजमा सक्षम वक्ता र नेतृत्व विकासमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
कार्यक्रमको एक महत्त्वपूर्ण क्षणमा, डिभिजन डाइरेक्टर सरोज ताम्राकारले सन् २०२५-२६ कार्यकालका लागि नवनिर्वाचित कार्य समितिलाई सपथ गराउँदै नेतृत्व हस्तान्तरण गर्नु भयो ।

नयाँ कार्यसमितिमा अध्यक्ष एकता बंशल, उपाध्यक्ष (शिक्षा) जान्वी खेडिया, उपाध्यक्ष (सदस्यता) पुष्पाञ्जली सिन्हा, उपाध्यक्ष (सार्वजनिक सम्पर्क) अनिल अधिकारी, सचिव विनिता गोयल, कोषाध्यक्ष संकेत बंशल र भिक्टर जोसेफ रहनु भएको छ ।

क्लबको विस्तार र निरन्तरताको प्रतीकका रूपमा एरिया डाइरेक्टर अञ्जु प्रधानले सात जना नयाँ सदस्यहरूलाई क्लबमा स्वागत गर्नुभयो ।
विभिन्न पुरस्कार वितरण, साङ्गीतिक प्रस्तुति, लक्की ड्र, र आकर्षक उपहारहरूले भरिपूर्ण यो कार्यक्रम जिल्ला ४१ की एसोसिएट क्लब ग्रोथ डाइरेक्टर सन्ध्या राठीको उपस्थितिमा थप गरिमामय बनेको थियो ।
कार्यक्रममा यसैवर्ष क्लबले जितेका ‘गोल्डेन गाभल’, ‘हल अफ फेम’, र ‘राइजिङ स्टार’ जस्ता पुरस्कारहरूको खुसीयाली पनि बाँडिएको थियो ।
आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका निवर्तमान अध्यक्ष मनोज गोयलले भावुक हुँदै भन्नुभयो, ‘सिम्फनी हाम्रो वर्षभरिको समर्पण र टिमवर्कको प्रतिबिम्ब हो। यस्तो अद्भुत टोलीको नेतृत्व गर्न पाउनु मेरो लागि अविस्मरणीय रह्यो ।’
नवनिर्वाचित अध्यक्ष एकता बंशलले क्लबलाई अझ गतिशील, समावेशी र प्रेरणादायी बनाउँदै नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘सिम्फनी ४.०’ को सफल आयोजनाले झापा टोस्टमास्टर्स क्लबलाई नेपालकै एक अग्रणी र ऊर्जाशील क्लबको रूपमा पुनः स्थापित गरेको छ ।



















