विराटनगर-मोरङमा हात्तीको आक्रमणबाट गत आर्थिक वर्षमा पाँच जनाले ज्यान गुमाएका छन् । यसैसाता बेलबारी नगरपालिका-८ मा हात्तीको आक्रमणबाट ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको थियो ।
गत आर्थिक वर्षमा मात्रै हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा सुन्दर हरैंचा नगरपालिकामा तीन तथा बेलबारी र लेटाङमा एक-एक गरी पाँच जनाले हात्तीको आक्रमणमा ज्यान गुमाएका हुन् ।
वन विनाश, आगलागी र अतिक्रमणका कारण आफ्नो प्राकृतिक बासस्थान र आहारा गुमाएपछि हात्तीहरू आहारा र सुरक्षाको खोजीमा मानव बस्तीतर्फ आकर्षित हुन थालेका छन् ।
एक दशकको तथ्याङ्क हेर्दा, २०६८ सालयता मोरङमा हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भइसकेको छ । यही अवधिमा विभिन्न कारणले ९ वटा हात्तीले पनि ज्यान गुमाएका छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार पछिल्लो दुई वर्षयता पूर्व-पश्चिम राजमार्ग आसपासका क्षेत्रमा हात्तीको आतंक बढेको छ । रातको समयमा बस्ती पसेर बालीनाली नष्ट गर्ने र मानिसलाई त्रसित बनाउने घटना सामान्य जस्तै बनेको छ ।
बढ्दो खतरालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालयले जङ्गल आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, रातको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन र घरवरिपरि उज्यालो राख्न आग्रह गरेको छ ।



















