काठमाडौँ– बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) को व्यवस्थापन जिम्मेवारी पाएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले ८२ जना करार कर्मचारीलाई एकैपटक हटाएको छ ।
आर्थिक वर्षको अन्त्यसँगै उनीहरूको करार नवीकरण नगरी सेवाबाट हटाइएको हो । यो निर्णयसँगै संसद् बैठकको सहज सञ्चालनमा समेत गम्भीर असर पर्न सक्ने देखिएको छ ।
हटाइएका कर्मचारीहरूले विद्युत्, खानेपानी, वातानुकूलन (एसी) र सरसफाइ जस्ता अत्यावश्यक सेवाहरू हेर्दै आएका थिए । एकैपटक यति ठूलो संख्यामा प्राविधिक तथा सेवाका कर्मचारी नहुँदा बैठक सञ्चालनमा प्राविधिक कठिनाइ आउन सक्ने एक जानकार कर्मचारीले बताए ।
सहरी विकास मन्त्रालयअन्तर्गत रहेको यो समितिले संसद् भवनका साथै गोदावरीमा रहेको सभा हलको व्यवस्थापन पनि गर्दै आएको छ । समितिको यो कदमलाई सत्ता र शक्तिमा रहेकाहरूले आफ्ना कार्यकर्ता भर्ती गर्नका लागि गरिएको तयारीका रूपमा हेरिएको छ ।
पुराना र अनुभवी कर्मचारीलाई हटाएर नयाँ राजनीतिक नियुक्ति गर्ने उद्देश्यले यस्तो निर्णय लिइएको आरोप छ ।समितिमा अब स्थायी कर्मचारी मात्र बाँकी छन्, जसले गर्दा संसद् भवन जस्तो संवेदनशील स्थलको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।



















