१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

झापामा सवारी दुर्घटनाको भयावह तस्वीर : एक वर्षमा ९५ को मृत्यु, झण्डै ४ करोड जरिवाना असुल



बिर्तामोड– झापा जिल्लामा गएको आर्थिक वर्ष २०८१-८२ को अवधिमा भएका सवारी दुर्घटनामा ९५ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार, सो अवधिमा कुल १,२९६ वटा दुर्घटना रेकर्ड भएका छन्, जसमा १३९ जना गम्भीर र १,९३४ जना सामान्य घाइते भएका छन् ।

नियम उल्लंघन गर्ने ५२ हजार ८७५ चालकलाई कारबाही गरी ३ करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व संकलन गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो ।

यसमध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३,१७४ जनाबाट मात्रै १८ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल भएको छ।

दुर्घटना न्यूनीकरणका लागि दण्डात्मक कारबाहीसँगै सचेतनामूलक कार्यक्रम र प्रविधिको प्रयोगलाई पनि ट्राफिक प्रहरीले प्राथमिकतामा राखेको छ ।

यस क्रममा विद्यालय तहका ८,४६१ विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा दिइएको थियो भने १,२५० जनालाई मापसे सचेतना तालिम प्रदान गरिएको थियो ।

यसैगरी, ट्राफिक व्यवस्थापनलाई आधुनिक र सहज बनाउन जिल्लामा ‘ट्राफिक भ्वाइलेशन रेकर्ड सिस्टम (टिभिआरएस)’ र अनलाइनबाटै जरिवाना भुक्तानी गर्न सकिने प्रणाली पनि सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

सडक सुरक्षालाई प्रभावकारी बनाउन कार्यालयले विभिन्न निकायसँगको सहकार्यलाई पनि बढाएको छ । स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चारमाध्यम र सामुदायिक संस्थाहरूसँगको समन्वयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

गत आर्थिक वर्षमा सवारी नियमनका लागि ७० थान रिफ्लेक्टर बेल्ट, ३० वटा ट्राफिक साइन बोर्ड, ४ वटा म्याजिक लाइट, ३ वटा ब्रीथलाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप जस्ता उपकरण प्रयोगमा ल्याइएको कार्यालयले जनाएको छ ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटोरिक्सा चालक र अन्य सर्वसाधारणलाई लक्षित गरी सञ्चालित यस्ता कार्यक्रमले सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो भन्ने भावना जगाउन मद्दत पुगेको प्रहरी निरीक्षक पौडेलले बताउनु भयो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, शनिबार ००:००  १० : ४० बजे