१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

झापा क्षेत्र नम्बर २ मा एक घर एक बिरुवाको अवधारणा : सभामुख घिमिरे (भिडियोसहित)



बिर्तामोड-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्र झापा-२ लाई हराभरा बनाउन एक महत्वाकांक्षी अभियानको घोषणा गर्नु भएको छ ।

‘एक घर, एक बिरुवा’ को अवधारणा अन्तर्गत अब हरेक घरधुरीले अनिवार्य रूपमा कम्तीमा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्ने भएको छ ।

झापाको बिर्तामोडमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यो नवीन अभियानको बारेमा जानकारी दिनु भएको हो ।

बढ्दो जलवायु परिवर्तन र वातावरणीय असन्तुलनले भविष्यमा निम्त्याउन सक्ने संकटको पूर्वतयारी स्वरूप यो अभियान सुरु गर्न लागिएको उहाँले बताउनुभयो ।

‘कम्तिमा पनि एउटा बिरुवा, त्यो पनि फलफूलको भए झन् राम्रो, हुर्काउने अभियान चलाउन लागिएको छ’, सभामुख घिमिरेले भन्नुभयो, ‘यसका लागि आवश्यक बिरुवाको प्रबन्ध गर्न हामी लागेका छौँ । यो अभियानलाई सफल बनाउन स्थानीय तहले पनि प्राथमिकताका साथ काम गर्नेछन् भन्ने पूर्ण विश्वास छ।’

उहाँले यो अभियान केवल बिरुवा रोप्ने कार्यमा मात्र सीमित नभई त्यसलाई हुर्काउने र संरक्षण गर्ने जिम्मेवारी हरेक नागरिकको काँधमा आउने बताउनुभयो ।

वातावरणीय सन्तुलन कायम राख्दै विकास र प्रकृतिलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा उहाँको जोड थियो ।

https://youtube.com/shorts/XPildcpW888?si=kQljEoVANhe05LZ9

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार ००:००  ८ : ५८ बजे