१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

भोलि उत्पादन हुने सामान आजै बजारमा ! उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड



शिवसताक्षी-तपाईंले आज किनेको पाउरोटीको उत्पादन मिति भोलिको भए के होला ? झापाको शिवसताक्षीमा यस्तै अचम्मको घटना बाहिर आएको छ ।

जहाँ, उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै उत्पादन मितिभन्दा अगावै खाद्य सामग्री बिक्री भइरहेको फेला परेको छ ।

शिवसताक्षी-११, झिलझिलेस्थित ‘कनकाईमाई दुध डेरी’ले बिहीबार उत्पादन हुने भनी छापिएका बेकरीका विभिन्न परिकार बुधबार नै बिक्री गरिरहेको थियो ।

एक सचेत उपभोक्ताले दिएको सूचनाका आधारमा शिवसताक्षी नगरपालिकाको टोलीले उक्त डेरीमा छापा मारेको हो ।

नगर उपप्रमुख नरमाया कार्कीको नेतृत्वमा खटिएको अनुगमन टोलीले डेरीबाट ठूलो ब्रेड, सानो ब्रेड, विस्कुट, केक, क्रिमरोल, डेनिस, पाउरोटी र डुनट लगायतका दर्जनौं प्याकेट खाद्य सामग्री बरामद गरेको छ ।

बरामद गरिएका केही सामग्रीमा उपभोग्य अवधि १६ दिनसम्मको उल्लेख थियो, जबकि सामान्यतया बेकरी उत्पादनको आयु ५ दिनको मानिन्छ । यसले उत्पादकको नियतमाथि नै शंका उब्जाएको छ ।

डेरीका सञ्चालक ताराप्रसाद बाँस्कोटाले आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनका अनुसार, दमकस्थित हिमालय बेकरी उद्योगले बिहानै सामान ल्याइदिएको र उपभोक्ताले मिति हेरेपछि मात्र थाहा भएको हाे ।

उता, हिमालय बेकरी उद्योगका सञ्चालक विकाश लिम्बूले भने कर्मचारीको गल्तीका कारण यस्तो हुन गएको स्वीकार गरेका छन् । उनले १६ देखि २१ तारिखसम्मको मिति राख्नुपर्नेमा भूलवश १७ देखि २२ तारिख छापिएको भन्दै आफ्नो बचाउ गरे ।

यस घटनाले बजारमा बिक्री हुने खाद्यवस्तुको गुणस्तर र उत्पादकको नियतमाथि गम्भीर प्रश्न उठाएको छ । नाफाका लागि मिति छलेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने प्रवृत्ति मौलाएको आशंका गरिएको छ ।

शिवसताक्षी नगरपालिकाले बरामद गरिएका सम्पूर्ण खाद्य सामग्री नष्ट गरिने जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार ००:००  १० : ०८ बजे