कैलाली-कैलालीको भजनीमा एउटा घर अवैध हतियार र संरक्षित वन्यजन्तुका अंगको अखडा बनेको खुलासा भएको छ । विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा बाबु-छोरासहित तीन जनालाई अत्याधुनिक हतियार र प्रतिबन्धित वन्यजन्तुका अंगसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले भजनी नगरपालिका-९, आमबाडीका ५० वर्षीय दिलिप कार्कीको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा प्रहरीले दुई थान पेस्तोल, त्यसको म्यागजिन, दर्जनौं राउण्ड गोली, छर्रा र हर्नेट जस्ता हतियार बरामद गरेको छ ।
हतियारसँगै प्रहरीले दुर्लभ मयुरको प्वाखका दुई गुच्छा र प्रतिबन्धित जरायोको तीन थान सिङ समेत फेला पारेको छ । प्रहरीले घरधनी दिलिप, उनका २२ वर्षीय छोरा विकास कार्की र सोही ठाउँका ३० वर्षीय सुरेश विकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीले उनीहरुको संलग्नता अवैध हतियारको कारोबार र वन्यजन्तुको तस्करीमा हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरेको जनाएको छ ।



















