५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बिर्तामोडमा हालसाविकपछि धनीपूर्जा वितरण सुरु



बिर्तामोड-नापी कार्यालयले हालसाविक गरिएका जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । बिर्तामोडस्थित २ नम्बर नापी टोलीले एक कार्यक्रमको आयोजना गरी जग्गाधनी प्रमाण पूर्जा वितरण सुरु गरेको हो ।

शुक्रबार जेष्ठ नागरिकलाई जग्गाधनी पूर्जा प्रदान गर्दै वितरण प्रक्रिया सुरु गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले जेष्ठ नागरिकलाई जग्गाधनी पूर्जा प्रदान गर्दै वितरण सुरुवात गरेकी हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हाल साविकपछि सीमा समस्या समाधान हुने विश्वास व्यक्त गरेकी छन् । साविकको चारपाने गाविस अर्थात् अहिलेको बिर्तामोड २ मा १६५३ धनीपूर्जा प्रमाणपत्र तयार भएको टोलीका प्रमुख सरोज विश्वकर्माले बताए ।

बिर्तामोड २ का वडाध्यक्ष किशोर कुमार पौडेलले हालसाविकको कामपछि धेरै समस्या समाधान हुने बताउँदै कुनै त्रुटी फेला परे तत्काल सच्याउन सकिने बताए । कार्यक्रममा उपप्रमुख नगेन्द्र संग्रौला, वडाध्यक्ष अग्निप्रसाद पाण्डे लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार ००:००  ९ : ३३ बजे