विराटनगर-नेपाल दुग्ध विकास संस्थानले कोटा तोकेर दूध किन्न आयोजनालाई निर्देशन दिएको छ । कार्तिक २५ गते बसेको संस्थानको उच्च व्यवस्थापन समितिको बैठकले दूध खरिदमा कोटा तोक्ने निर्णय गरेको हो ।
औसत कोटा अनुसार दूध सङ्कलन गर्ने निर्णय गर्दै स्थानले तोकिएभन्दा बढी सङ्कलन भए सम्बन्धित आयोजना प्रमुख जिम्मेवार रहनुपर्ने निर्णय पनि गरेको छ । संस्थानले दूध उत्पादनको मुख्य सिजनमा नै कोटा निर्धारण गरेको हो ।
संस्थानका महाप्रबन्धक सूर्य पौडेलले भण्डारण र बिक्री क्षमताका आधारमा दूध खरिदमा कोटा निर्धारण गरिएको बताए । उनका अनुसार संस्थानसँग करिब ५ सय टन धूलो दूध र ५ सय टन मखन मौज्दात छ ।
संस्थानको निर्णय अनुसार विराटनगर दुग्ध वितरण आयोजनाले दैनिक १५ हजार लिटर मात्रै दूध खरिद गर्न सक्छ । आयोजनाले इलाम, पाँचथर, मोरङ लगायतका जिल्लाबाट सहकारी संस्थामार्फत दूध खरिद गर्दै आएको छ ।
संस्थानको निर्णयप्रति दुग्ध उत्पादक सहकारी र किसानले आपत्ति प्रकट गरेका छन् । ‘मिल्क होलिडे’ गराउने नियत राखेर संस्थानले दूध खरिदमा कोटा निर्धारण गरेको उनीहरूको आरोप छ ।
केन्द्रीय दुग्ध सहकारी सङ्घका महासचिव रामप्रसाद आचार्य दूध खरिद गर्ने दायित्वबाट राज्य पन्छिन नमिल्ने बताउँछन् । महासचिव आचार्यले दूधमा कोटा तोकिनुलाई किसान मार्ने खेलका रुपमा बुझिएको बताए ।
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार दिनमा झन्डै ७५ लाख लिटर दूध उत्पादन हुन्छ । उत्पादनको आधा हिस्सा घरमै खपत हुँदै आएको छ । नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले कोटा तोकेर संस्थानले किसानमाथि बेइमानी गरेको बताए ।
















