८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

बिर्तामोडमा अलैँची प्रशोधन केन्द्र स्थापना : युरोपियन मुलुकमा बजारीकरणको सम्भावना बढ्यो



बिर्तामोड-नेपाल एभरेस्ट कार्डमम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोडमा अलैँची प्रशोधन केन्द्र स्थापना गरेको छ । अलैँचीको व्यावसायिक प्रवर्द्धनका लागि युएसएआइडीको सहयोगमा झापाको बिर्तामोडमा प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

प्रशोधन केन्द्रको कोशी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सोमबार उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री हाङगामले अलैँचीको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा प्रदेश सरकार गम्भीरतापूर्वक लाग्ने बताए ।

नेपाल एभरेस्ट कार्डमम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रज्वल बिमलीका अनुसार प्रशोधन केन्द्रमार्फत ‘एभरेस्ट शान’ ब्रान्डमा ३० भन्दाबढी नयाँ उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनका लागि तयारी अवस्थामा छन् ।

प्रालिले युएसएआइडीको ट्रेड एन्ड कम्पेटिभनेस प्रोग्रामको सहयोगमा अलैँची प्रशोधनका लागि अत्याधुनिक मेसिनरी प्राप्त गरेको छ । मेसिनरीको सहायताले अलैँची प्रशोधन गरी मसलाजन्य उत्पादन बनाइनेछ ।

प्रशोधन केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि पाँच करोड भन्दाबढी रुपैयाँ खर्च भएको कार्यकारी अधिकृत बिमलीले बताए । युएसएआइडीसँगको साझेदारीले नेपाली उत्पादनलाई युरोपियन मुलुकमा प्रवर्द्धन गर्न सजिलो हुने व्यावसायिक क्षेत्रको विश्वास छ ।

प्रालिका प्रबन्ध निर्देशक ओमकृष्ण बिमली कोशी प्रदेशका कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बजारीकरणमा सरकारले सहयोग गर्न सके आम्दानीको स्रोत बढ्ने बताउँछन् । रोजगारी सिर्जना गर्ने उद्योगको संरक्षण सरकारले गर्ने हो भने हजारमा असुल भइरहेको राजस्व करोडमा असुल हुने बताए ।

नेपाली उत्पादनको विश्वव्यापी बजारीकरणका लागि दुबईमा एउटा आउटलेट सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक बिमलीले जानकारी दिए । माग र आवश्यकताका आधारमा अरु मुलुकमा समेत त्यस्ता आउटलेट सञ्चालनमा ल्याउने तयारी छ ।

प्रशोधन केन्द्रको उद्घाटनका अवसरमा बोल्दै बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले युवाहरूको विदेश पलायन रोक्न स्वदेशमा रोजगारीका अवसरहरू सिर्जना गर्ने यस प्रकारका उद्योगलाई सबै मिलेर प्रवर्द्धन गर्नुपर्ने बताइन् ।

प्रालिका निर्देशक पार्वता बिमली नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा राज्यले चासो देखाउन ढिलो गर्न नहुने बताउँछिन् । उनका अनुसार प्रशोधन केन्द्रले कालो अलैंचीको प्रयोग गरी आवश्यक तेल, माउथ फ्रेसर र विभिन्न मसलाहरू उत्पादन गर्नेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ००:००  १० : ४६ बजे