१ असार २०८३, सोमबार | Mon Jun 15 2026

गिरिजाप्रसाद कोइराला स्मृति भवन अलपत्र : जेसीजले उठायो साझा पहलको मुद्दा



भद्रपुर-भद्रपुर जेसीजले ठूलो सरकारी लगानीमा निर्माण सुरु भएर अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनकाे विषय उठान गर्दै जेसीज सप्ताह सुरु गरेको छ ।

निर्माणधीन अवस्थामा अलपत्र परेको जीपी भवनको दोस्रो तलामा कार्यक्रम आयोजना गरी जेसीजले सरोकारवालालाई राखेर साताव्यापी अभियान सुरु गरेको हो ।

कार्यक्रममा भवन अलपत्र पर्नुका कारण खोजिएको छ । निर्माण कार्य पूरा भई कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विषयमा सरोकारवालाका आ-आफ्नै मत छन् ।

भवनसँग मुख्य सरोकार राख्ने जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बराल विभिन्न कानुनी अड्चनका कारण भवनको निर्माण कार्य पूरा हुन नसकेको बताउँछन् ।

समन्वय समितिका तर्फबाट सङ्घीय सरकारका सरोकारवाला सबै मन्त्रालयको ढोका ढकढक्याएको भए पनि निराशा मात्रै हात लागेको प्रमुख बरालले बताए । उनले अझै पनि प्रयास भइरहेको जानकारी दिए। ।

भवनको निर्माण कार्य अघि बढाउन कर्मचारी संयन्त्रले विभिन्न कारण देखाएर पन्छिने गरेको बरालको तर्क छ । ‘उच्चस्तरीय राजनीतिक निर्णयबाट मात्र यसको निकास निस्किन सक्छ भन्ने मलाई लाग्छ’, कार्यक्रममा बरालले भने ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल करिब ९ करोड रुपैयाँ खर्च भइसकेर पनि भवनले पूर्णता पाउन नसक्नु दुःखद विषय भएको बताउँछन् । उनले भवन पूर्णताका लागि आफूले लगातार पहल गर्दै आएको बताए ।

भद्रपुर जेसीसका अध्यक्ष टीकाराम पाण्डे भवन पूर्णताका लागि सामूहिक प्रयास सुरु गर्ने निष्कर्षमा पुगेको र यसका लागि प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने बताउँछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार ००:००  ७ : ३४ बजे