८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

अँगालो मारेको अवस्थामा मृत भेटिए दुई बालिका : आमा सम्पर्कविहीन



मोरङ– मोरङको सुन्दर हरैँचा नगरपालिकामा एकै घरका दुई बालिका मृत अवस्थामा भेटिएका छन् । वडा नम्बर ७ स्थित नारायण न्यौपानेको केराघारीमा शनिबार अपरान्ह दुई बालिका मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार धनकुटाको पाख्रीबास घर भएका अर्जुन कार्कीका दुई छोरीहरू तीन वर्षीया आयिका र एक वर्षीया अर्पणा कार्की मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार कार्कीकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छिन् । घटनास्थल नजिक कीटनाशक औषधि मेटासिटको बट्टा फेला परेको छ ।

प्रहरी प्रवक्ता बस्नेतका अनुसार शुक्रबार बेलुका अर्जुन र अस्मिताबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो । विवादपछि दुई नाबालिका छोरी लिएर अस्मिता राति साढे आठ बजे घरबाट निस्किएकी थिइन् ।

डीएसपी बस्नेतका अनुसार घटनास्थलमा दुवै नाबालिकाको शव अँगालो मारेको अवस्थामा फेला परेको हाे । प्रहरीले बेपत्ता भएकी अस्मिताको खोजी कार्य सुरु गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार ००:००  ९ : ५६ बजे