८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

हात्ती नियन्त्रणका लागि बिर्तामोडको नौ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार



झापा– बिर्तामोडमा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार निर्माणको काम सुरु भएको छ । हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा विद्युतीय तारबार निर्माणको काम सुरु गरेको हो ।

वडा नम्बर ६ को देउनियापुल दक्षिणदेखि वडा नम्बर ८ को किसनभिट्टा सम्मको नाै किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको संरक्षण कोषले जनाएको छ । तारबार निर्माण कार्यको बिहीबार बिर्तामोड नगरकी प्रमुख पवित्रा महतारा प्रसाईले शिलान्यास गरेकी छन् ।

शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार प्रभावकारी हुने बताइन् । ‘बढ्दो मानवीय र भौतिक क्षति कम गर्नका लागि विद्युतीय तारबार फलदायी हुने अपेक्षा राखेका छौँ, कार्यक्रममा नगर प्रमुख प्रसाईले भनिन्, ‘हात्ती लगायतका वन्यजन्तुको सुरक्षामा पनि हामी सबैको चासो र चिन्ता हुनुपर्छ ।’

नगर प्रमुख प्रसाईले हात्तीका लागि मनपर्ने आहारा व्यवस्थापन गर्न स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समितिले मिलेर काम गर्नुपर्ने प्रस्ताव गरिन् । एक करोड ३२ लाख रुपैयाँको लागतमा विद्युतीय तारबार निर्माण हुन लागेको राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले बताए ।

२०८१ जेठ १८ मा सुरु भई कार्तिक २९ मा सक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी फुङफुङ्गे शैलेश्वरीले दुई महिना ढिलो गरी काम सुरु गरेको हो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले यसअघि स्थानीयले व्यहोर्दै आएको धनजनको क्षति विद्युतीय तारबारको निर्माणपछि रोकिने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर अध्यक्ष रञ्जु प्याकुरेलले निर्माणपछि विद्युतीय तारबारको संरक्षण चुनौतीपूर्ण हुने भएकाले यसमा सरोकारवाला गम्भीर हुनुपर्ने बताइन् ।

हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतकुमार राई विद्युतीय तारबार निर्माणपछि स्थानीयको बालीनालीमा यसअघि हुने गरेको क्षति रोकिने विश्वास व्यक्त गर्छन् । संरक्षण कोषका कोशी प्रमुख गौतमका अनुसार सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिएको थियो ।

अहिलेसम्म हात्ती नियन्त्रणका लागि झापाको जलथल र चारआली क्षेत्रमा समेत गरी ७६ किलोमिटरमा विद्युतीय तारबार निर्माण भइसकेको छ ।’अहिलेसम्म हात्ती नियन्त्रणका लागि यो एकमात्र प्रभावकारी विधि हो’, गौतमले भने, ‘नियमित मर्मत गर्ने हो भने यसलाई दिगो र भरपर्दो बनाउन सकिन्छ ।’

कोषले निर्माणपछि डिभिजन वन कार्यालयलाई स्वामित्व हस्तान्तरण गर्दै आएको छ । डिभिजनमार्फत सामुदायिक वनले संरक्षणको जिम्मेवारी पाउँदै आएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार ००:००  १ : ०५ बजे